काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिका अनुसार केही अहिले चर्चामा रहेका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।
राष्ट्र बैंकले यसअघि भएको ४ वटा व्यवस्थामा रहेकोमा अहिलेको संशोधिन निर्देशिकाले थप ४ वटा व्यवस्था थपेको छ ।
जसमा पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुले सेयर धितोराखेर कर्जा नपाउने भएका छन् ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब पुनर्बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, बिशाल बजार कम्पनी लगायतका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।
यस्तै राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार केही जलविद्युत कम्पनीको सेयर मूल्य अहिले बढिरहेपनि त्यस्ता कम्पनीको सेयर धितो राखेर कर्जा दिन नपाइने भएको छ ।
यस्तै केही समय यता साधारण सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको सेयर धितो राखेर पनि कर्जा दिन नपाइने भएको छ ।
जनरल इन्स्योरेन्स, रिलायन्स लाईफ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, एनआईसी लघुवित्त, साधाना लघुवित्त, माउन्टेन इनर्जी, यूनाइटेड इदी–मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीको सेयर धितो राखेर कर्जा लिन पाइने छैन ।
यस्तै अहिले आईपीओ जारी गरिरहेको प्रभु लाइफ इन्स्योरेन्सको सेयर धितो राखेर पनि कर्जा लिन पाइने छैन ।
SHARE YOUR THOUGHTS