काडमाडौं । धितोपत्र बोर्डले आईसीटी अप्रेसन म्यानुअल–२०२० लागु गरेको छ । म्यानुअल कार्यान्वयनमा आएसँगै आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि गर्न तथा बजार नियमन तथा सुपरिवेक्षण गर्न प्रभावकारी हुने जनाएको छ । बोर्डका अुनसार आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने देखिएको छ ।
बोर्डको आर्थिक बर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागु गर्ने व्यवस्था गरिए बमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरी म्यानुअल पुस ८ देखि लागू गरेको छ ।
उक्त म्यानुअलमा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था; तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था; सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास, बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरन पूर्वको निरीक्षण तथा परीक्षण समावेश गरिएको छ । यस्तै हार्डवेयर, सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि सम्बन्धी तालिम तथा सचेतना अभिवृद्घि लगायतका व्यवस्थाहरु समावेश गरिएको छ ।
म्यानुयल लागू गरिएसँगै बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरीे बोर्डबाट असोज २३ देखि सञ्चालनमा ल्याइएको इलेक्ट्रोनिक रिपोट्रिङ एण्ड रिट्राइभल सिस्टमको प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको भनाइ छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तारलार्ई व्यवस्थित एवं सुशासित बनाउन उक्त म्यानुअल लागु गरेको जनाएको छ ।
बजार सम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एवं भरपर्दो बनाई समग्र बजारलार्ई पारदर्शी एवं विश्वसनीय बनाउन र बजारमा उपयोग हुने सूचना प्रविधिलार्ई अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन बजार सम्बन्धी एकीकृत नीतिगत कानुनी, संस्थागत व्यवस्था तथा रणनैतिक उपाय अवलम्बन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ गत वर्ष साउन १ गतेदेखि लागू गरेको थियो ।
SHARE YOUR THOUGHTS