धितोपत्र बोर्डलाई प्रश्नः कहिले घट्छ सेयर ब्रोकरको कमिशन ?

धितोपत्र बोर्डलाई प्रश्नः कहिले घट्छ सेयर ब्रोकरको कमिशन ?

पुष्प दुलाल
0
Shares

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलको निर्देशन कार्यान्वयन गर्न धितोपत्र बोर्डले आलटाल गरेको छ ।

अर्थमन्त्री पौडेलले कात्तिक पहिलो साता ब्रोकर कमिशन घटाउ निर्देशन दिएको दुई महिना वितिसक्दा पनि बोर्डले कमिशन घटाउन सकेको छैन ।

गत साता अर्थमन्त्री पौडेलले तत्काल ब्रोकर कमिशन घटाउन बोर्डका अध्यक्षलाई मन्त्रालयमा नै बोलाएर निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि बल्ल सोमबार बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले सञ्चालक समितिको बैठकमा प्रस्ताव पेश गरेका छन् ।

तर उक्त बैठकले ब्रोकर कमिशन घटाउने निर्णय गर्न सकेन ।

मंगलबारको सञ्चालक समितिको बैठकमा कमिशनको विषयमा सामान्य छलफल भएपनि अन्तिम टुंगो लगाउन नसकिएको बताउँदै बोर्ड अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘मेरो काम बोर्ड बैठकमा प्रस्ताव लैजाने हो, बोर्ड बैठकले कमिशन तय गर्ने हो, छलफल हुँदैछ ।’

लामो समयदेखि ब्रोकर कमिशन घटाउने भनेर लगानीकर्तालाई झुल्याईरहेको धितोपत्र बोर्डले अझै केही दिन कमिशन नघटाउने भएको छ ।

यो अवधिमा एक महिना बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पारिवारिक कामका लागि देश बाहिर रहेका थिए ।

बोर्डका उप–कार्यकारी निर्देशन डा.नवराज अधिकारीले ब्रोकर कमिशनको विषयमा अध्ययन गरेर अध्यक्ष ढुंगानालाई प्रतिवेदन पेश गरिसकेका छन् ।

त्यसबाहेक बोर्डले कुनै पनि सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेको छैन ।

अहिले लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाखसम्म ०.५५, ५ लाख १ रुपैयाँदेखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन् ।

अहिलेसम्म लगानीकर्ताले तिरेको कमिशनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीबाट सिडिएससीलाई कमिशन जाने गरेको छ । यस्तै लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमशिन तिर्ने गरेका छन् ।