काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा माग भन्दा ५३.४० प्रतिशत बढी आवेदन परेको छ ।
निष्काशन सुरु भएको चौथो दिनमा ११ लाख ७७ हजार ९२० जना आवेदकले १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँको १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन दिएका छन् ।
बैंकले गत शुक्रबारदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
प्रतिकित्ता १ सय रुपैयाँका दरले भोली (माघ ६ गते)सम्म आवेदन दिन सकिने छ ।
उक्त आईपीओमा सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।
SHARE YOUR THOUGHTS