काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने भएको छ । यसका लागि बिहीबार सम्झौता भएको छ ।
मोबाइल बैंकिङमार्फत् कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरे ।
सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ ।
SHARE YOUR THOUGHTS