माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने « Eglish Khabarhub

माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने



काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले फागुन ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बार्षिक ९ प्रतिशत ब्याजदरले १० वर्षको लागि जारी गर्न उल्लेख गरेको छ । जसमा ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

जारी गरिने कुल ऋणपत्रमा ६ लाख कित्ता ऋणपत्र हुन आउने कुल ६० करोड रुपैयाँ बराबरको ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

बाँकी ४ लाख कित्ता ऋणपत्र हुन आउने कुल ४० करोड रुपैयाँ ऋणपुँजी सर्वसाधारणमा बिक्री गरिने बैंकले उल्लेख गरेको छ । जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिनेछ ।

बैंकले जारी गर्ने ऋणपत्र खरिद गर्ने इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन व्यवस्था बैंकले गरेको छ । ऋणपत्र निष्काशनका लागि बैंकलाई केयर रेटिङ्ग नेपालले आइआर डबल बी प्लस रेटिङ्ग प्रदान दिएको थियो ।

Publish on: