काठमाडौं । सिटिजन्स बैंकको साधारणसभाले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अनुमति दिएको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित भएको हो । यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।
तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
तिनाउको साधारणसभाले पनि सिटिजन्स बैंकमा बिलय हुने प्रस्ताव पारित गरेको छ । दुवै संस्थाको साधारणसभाले सो प्रस्ताव पारित गरेसँगै सिटिजन्स बैंकलाई तिनाउलाई गाभ्ने बाटो खुलेको छ । राष्ट्र बैंकले अनुमति दिएपछि तिनाउ डेभलपमेन्ट बैंक सिटिजन्स बैंकको रुपमा कारोबार सुरु गर्ने छ ।
एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैें डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार गरे ।
२०७७ साल माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
SHARE YOUR THOUGHTS