बजार घटेपछि बोल्यो सेबोन, टी प्लस टु कडाइका साथ कार्यान्वयन गर्न निर्देशन « Eglish Khabarhub

बजार घटेपछि बोल्यो सेबोन, टी प्लस टु कडाइका साथ कार्यान्वयन गर्न निर्देशन



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार ५४.७५ अंकले घटेपछि नेपाल धितोपत्र बोर्डले मुख खोलेको छ ।

सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा कम्तीमा पच्चीस प्रतिशत रकम ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्थाबारे लगानीकर्तामा द्विविधा सिर्जना भएको विषयमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले गत माघ १४ गते धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टुमा हुनुपर्ने व्यवस्था लागू भइसकेको स्पष्ट पारेको छ ।

तर कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले त्यसको कार्यान्वयन कडाइका साथ गर्न निर्देशन समेत दिएको छ ।

बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको उल्लेख गरेको छ ।

यसका लागि बोर्ड अध्यक्षसहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार भएको छलफलमा धितोपत्र कारोबारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ ।

बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट थप प्रभावकारी भई धितोपत्र कारोवार अझै लगानीकर्तामैत्री हुने विश्वास बोर्डको छ ।

Publish on: