सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए « Eglish Khabarhub

सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए



काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । नियामक निकायले स्वीकृत गरिसकेको लाभांश सरकारले घटाउन भनेपछि अध्यक्ष अधिकारीले राजीनामा अर्थमन्त्री बिष्णु पौडेललाई गत माघ ५ गते बुझाएका हुन् ।

‘बैंक सञ्चालक समितिले घोषणा गरेको पछि राष्ट्र बैंकले स्वीकृत गरी बैंकको साधारणसभाले समेत पारित गरिसकेको लाभांश सरकाले घटाऊ भन्न मिल्दैन,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘सरकार भनेको बैंकको लगानीकर्तामात्र हो, लगानीकर्ताको हिसाबले सुझाव दिन मिल्छ । तर नियामकले समेत स्वीकृत गरिसकेको विषयमा हस्तक्षेप गर्न मिल्दैन ।’

बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकबाट स्वीकृत भएर गत पुस २९ गते बैंकको साधारणसभा समेत पारित गरिसकेको छ ।

बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर छ । बैंकको ठूलो लगानीकर्ता सरकार भएपछि सञ्चालक समिति र नियामकको निर्णयमा हस्तक्षेप गर्न लगानीकर्ताले सैद्दान्तिकरुपमा नै नमिल्ने भएको हुँदा पारित भइसकेको लाभांश घटाउनु परे पदबाटै बाहिरिने निर्णय मन्त्रीलाई सुनाएको अधिकारीले बताए ।

‘यदि लाभांश पारित भएर लगानीकर्ताको खातामा पठाइसकिएको छ, त्यसलाई कोषमा नै फिर्ता ल्याउनुपर्ने हो भने अर्को मान्छे खोज्नुस भनेर मन्त्रीज्यूलाई माघ ५ गते नै राजीनामा बुझाएको छु,’ उनले थपे, ‘बाँकी निर्णय मन्त्रीजयूको हातमा छ । तर मेरो भने अन्तिम निर्णय त्यही हो ।’

वितरण भइसको लाभांशलाई बैंकले लगानीकर्तासँग र्फिता लिँदा बैंकको नैतिकतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ । अर्थमन्त्रालयबाट लाभांश घटाएर बाँकी फिर्ता लिन दबाब आएमा आफ्नो कार्यकाललाई निरन्तरता दिन नसक्ने उनले बताए ।

Publish on: