काठमाडौ । नेपालका कम्पनी तथा उद्योगले सोझै विदेशी लगानी भित्र्याउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन सहजिकरण गरेको हो ।
हाल कुनै पनि कम्पनी उद्योगले विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा लगानी भित्र्याउँदा उद्योग विभाग र राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । यसलाई प्रक्रियालाई सहजिकरण गर्दै केन्द्रीय बैंकमा जानकारीमात्र गराए पुग्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
‘विदेशी लगानी नेपाल ल्याउनु परेमा अब राष्ट्र बैंकको स्वीकृतिको आवश्यकता पर्दैन,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘अब उद्योग विभागबाट स्वीकृत पाएका कम्पनीहरुले सोझै विदेशी लगानी नेपाल भित्र्याउन सक्नेछन् ।’
विदेशी लगानी नेपाल भित्र्याउन कम्पनी तथा उद्योगीलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले प्रक्रियागत झन्झटलाई सहजिकरण गरिदिएको उनको भनाइ छ । यसरी भित्र्याइएको वैदेशीक ऋण प्राप्त भएको ३५ दिनभित्र लेखाङ्कन भने कम्पनीहरुले राष्ट्र बैंकमा गराउनु पर्नेछ । आवश्यकताअनुसार कम्पनीहरुले वैदेशिक ऋण नेपाल भित्र्याउन सक्ने उनले जानकारी दिए ।
यसरी राष्ट्र बैंकको स्वीकृति बिना नै कम्पनी उद्योगहरुले विदेशी लगानी नेपाल भित्र्याउनका लागि भने केही मापदण्डहरु तोकिएको छ । जसमा ऋण लिने कम्पनी, उद्योग र विदेशी लगानीकर्ताबीच सम्झौता भएको हुनपर्नेछ ।
लगानी बैंकिङ प्रणाली प्राप्त हुने प्रतिबद्धता र विदेशबाटै ऋण लिनुपर्ने आवश्यताको पुष्टी गरिएको हुनुपर्नेछ । साथै, नेपालको बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा ऋण लिन नसक्ने अवस्थाको समेत पुष्टी गरिएको हुनु पर्नेछ ।
यस्तै विदेशी लगानी नेपाल भित्र्याउने कम्पनी उद्योग दर्ता, कर चुक्ताको प्रमाणपत्र, कालोसुचीमा नरहेको प्रमाणपत्र, ऋण चुक्ता गर्ने आधारलगायत विविध कागजात उद्योग विभागमा बुझाएपछि राष्ट्र बैंकको स्वीकृतिबिना नै वैदेशिक लगानी भित्र्याउन पाइनेछ ।
SHARE YOUR THOUGHTS