काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको रि–इन्स्योरेन्स गरेको छ । लामो समयको प्रयासपछि एउटा अन्तर्राष्ट्रिय पुनर्बीमाले कोरोना बीमाको रि–इन्स्योरेन्स गर्ने सहमत भएको नेपाल पुनर्बीमा कम्पनीका कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले बताए ।
‘हामीले शुरुवाती चरणबाटै अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स खोजिरहेका थियौ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसबीच धेरै पार्टीसँग विभिन्न चरणमा छलफल भयो तर केही समय अघिमात्र एउटा पार्टीले सहकार्य गर्न सहमत भएका हुन् ।’
सो पार्टीले कोरोना बीमाको केही प्रतिशत रि–इन्स्योरेन्स गरेको जानकारी दिए ।
कोरोना बीमा पोलिसीमा अन्तर्गत बीमक कोरोना पोजेटिभ हुने बित्तिकै बीमा दावी गर्ने पाउने व्यवस्थाले गर्दा विदेशी रि–इन्स्योरेन्स कम्पनी नमानेको उनको भनाइ छ ।
बीमा सिद्दान्तअनुसार महामारी बीमा नहुने हुँदा नेपाल पुनर्बीमा कम्पनीले शुरुवातबाटै अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स कम्पनी खोज्न सकिरहेको थिएन् । सोही कारणले बीमाको दावी भुक्तानीको दायित्व बाँडफाँट गरिएको थियो ।
कोरोना बीमा दावी भुक्तानीको दायित्व सरकारमा
कोरोना बीमाको दावी भुक्तानीको दायित्व सरकारमा सरेको छ । कोरोना बीमाको दावी भुक्तानी ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुगेको दावी भुक्तानीको दायित्व स्वतः सरकारमा गएको हो । नेपाल बीमक संघका अनुसार हालसम्म कोरोना बीमा दावी भुक्तानी ४ अर्ब रुपैयाँ बढी पुगिसकेको छ ।
दावी भुक्तानीको दायित्व बाँडफाट अन्तर्गत पहिलो १ अर्ब रुपैयाँसम्मको भुक्तानी पूलअन्तर्गत, त्यसपछि १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको दायित्व पुनर्बीमा कम्पनीमा र त्यसपछि २ अर्ब रुपैयाँदेखि २ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट बहन गर्ने व्यवस्था छ ।
साथै २ अर्ब ५० करोड रुपैयाँमाथिको दावी भुक्तानीको दायित्व ३ अर्ब ५० करोडसम्मको बीमा समितिले र त्यसभन्दा माथिको दावी भुक्तानीको सम्पूर्ण दायित्व सरकारले बहन गर्ने व्यवस्था छ ।
हालसम्म कोरोना बीमा १ अर्ब रुपैयाँ बढीको प्रिमियम संकलन भएको छ नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल ४ अर्ब बढी दावी परेको छ भने त्यसमा हालसम्म कम्पनीहरुले साढे ३ अर्ब रुपैयाँ दावी भुक्तानी बीमितलाई वितरण गरिसकेका छन् ।
कोरोना बीमामा परेको दावी र सोको भुक्तानी दायित्वअनुसार अब कोरोना बीमाको दावी भुक्तानी दायित्व बीमा कम्पनी, पुनरबीमा, बीमा समित हुँदै सरकारमा पुगिसकेको छ ।
दायित्व बाँडफाँट अनुसार नेपाल पुनरबीमा कम्पनीले आफ्नो दायित्व अनुसारको १ अर्ब रुपैयाँ कोरोना बीमा कोषमा पठाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘समितको दायित्वमा रहेको १ अर्ब रुपैयाँ दावी भुक्तानी रकम पनि १÷२ दिनमा नै कोषमा पठाउँछौँ, त्यसको लागि समितिले सबै प्रक्रिया पूरा गरिसकेको छ ।’
सरकारको दायित्वमा रहने कोरोना दावी भुक्तानीको रकम कोषमा पठाउन सरकारसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS