कोरोनाले बेरोजगार बनेका टुरिस्ट गाइडको सारथी बन्यो प्रभु बैंक, फाक्लिङ पुगेर दियो सस्तो ऋण

कोरोनाले बेरोजगार बनेका टुरिस्ट गाइडको सारथी बन्यो प्रभु बैंक, फाक्लिङ पुगेर दियो सस्तो ऋण

पुष्प दुलाल

फाक्लिङ । सोलुखुम्बुका टुरिस्ट गाइडहरु एक वर्षअघिसम्म भ्याइनभ्याइ हुन्थे पर्यटकलाई सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालसम्म पुर्याउन । कमाइ पनि राम्रै हुन्थ्यो ।

आफ्ना बाबुबाजेले गर्दै आएको कामलाई युवा पुस्ताले पनि निरन्तरता दिएका थिए । उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायका यी युवाहरु १० महिनादेखि बेरोजगार छन् ।

सन् २०२० को शुरुवातदेखि पर्यटन क्षेत्रमा कोरोनाको असर देखिन थाले पनि ०७६ चैत ११ गते सरकारले लकडाउन गरेपछि भने पर्यटन क्षेत्रमा ठूलो असर गर्यो ।

एक वर्षअघिसम्म पर्यटक घुमाउन व्यवस्त हुने कामी दोर्जे शेर्पा अचेल बेरोजगार छन् ।

‘कोरोनापछि त खुम्बु क्षेत्रमा पर्यटकको अनुहारसम्म पनि देखिँदैन, अहिले हामीलाई जिवीकोपार्जन गर्नसमेत कठिन भएको छ,’ शेर्पाले क्लिकमाण्डूसँग दुखेसो पोखे, ‘सयौं टुरिस्ट गाइडहरु आफ्नो पेशाबाट पलायन हुन लागिसके ।’

पर्यटनमा सुधार नआएपछि उनले पनि वैकल्पिक व्यवसायको बारेमा सोचेका छन् ।

‘अब त पहिले कमाएको पैसा पनि सकिसक्यो,’ उनले सुनाए, ‘पैसा भए अरु केही व्यवसाय गर्ने सोचेको थिएँ । तर गाउँमा सबैको हालत उस्तै छ कसैसँग ऋण दिने पैसा छैन ।’

आइडिया स्टुडियोका डा. छिरिङ शेर्पाको समन्वयमा प्रभु बैंकले सस्तो ब्याजदरमै बिनाधितो १ लाख ऋण दिएको छ ।

‘बैंकहरु दुखका सारथी हुन् भन्ने अनुभूति दिलाउनका लागि पनि हामीले यस्तो काम गरेका हौं,’ शेरचनले भने, ‘तपाईंहरु आँट गर्नुहोस्, प्रभु बैंकले साथ दिन्छ ।’

कामी दोर्जे शेर्पाजस्तै २४ जना टुरिस्ट गाइडलाई सगरमाथाको प्रवेशद्वार फाक्लिङ पुगेर प्रभु बैंकका सीइओ अशोक शेरचनले ऋण प्रदान गरे । ऋणको प्रमाणपत्र थाप्दै गर्दा उनीहरुको मानसपटलमा आशाको त्यान्द्रो जागेको अनुहारमा झल्किएको प्रष्टै देखिन्थ्यो ।

उनीहरुको मुहारमा मुस्कान देख्दा लाग्थ्यो उनीहरुले ठूलै कुरा प्राप्त गरिरहेका छन् ।

‘एक लाख रुपैयाँले ठूलो ब्यवसाय गर्न त सकिँदैन तर हामी मिलेर सामुहिकरुपमा भने धेरै गर्न सक्छौं भन्ने आशा पलाएको छ,’ ऋणको प्रमाणपत्र थापिसकेपछि दावा फुञ्जा शेर्पाले प्रतिक्रिया दिए, ‘हामीलाई विश्वास गरेकोमा प्रभु बैंकलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छौं ।’

बेरोजगार बनेका टुरिस्ट गाइडहरु आफ्नो थातथलोबाट पलायन नुहन् भनेर सहुलियत दरमा ऋण प्रदान गरेको बैंकका सीइओ अशोक शेरचनले बताए ।

‘मलाई थाहा छ तपाईंहरुका लागि यो १ लाख रुपैयाँ त्यतिठूलो पैसा त हैन तर यो संकटको घडीमा अन्य व्यवसाय गरेर जिविकोपार्जन गर्न सहज होस् भन्ने हेतुले हामीले तपाईंहरुलाई प्रोत्साहन गर्न खोजेको मात्रै हो,’ शेरचनले भने, ‘तपाईंहरुले ६ महिना ब्याज पनि तिर्नु पर्दैन । त्यसपछि नियमित ब्याज तिर्नुभयो भने हामी थप ऋण दिन्छौं ।’

बैंकसँग पैसा हुने भएकाले व्यापार व्यवसाय गर्नका लागि बैंकसँग जोडिनुपर्ने उनले सुनाए ।

शेरचनले सामान्य शैलीमा ठूल्ठूला व्यवसायीहरुले पनि बैंकबाटै ऋण लिएर व्यवसाय विस्ता गर्ने गरेको कुरा स्थानीयलाई जानकारी समेत गराएका थिए ।

‘अहिलेको यो पैसाले गाउँमै ससानो काम गर्दै जानुहोस्, केही समयपछि त पर्यटकहरु आइहाल्छन्, त्यसपछि टुरिस्ट घुमाउने काम पनि गर्नुहोस्, अन्य व्यवसाय पनि गर्नुहोस्, प्रभु बैंक तपाईंहरुको साथमा छ,’ उनले भने, ‘तपाईंलाई होटेल खोल्न मन छ तर १ करोड रुपैयाँ पैसा लाग्छ, यत्रो पैसा कहाँबाट जुटाउने भनेर चिन्ता लिनु पर्दैन, २५/३० लाख तपाईं निकाल्नुहोस्, ६०/७० लाख रुपैयाँ बैंकले हालिदिन्छ ।’

सीइओले यसो भनिरहँदा उपस्थित टुरिस्ट गाइडहरु उत्साहित भएर कुरा सुनिरहेका थिए । केही खासखुस गरिरहेका थिए । लाग्थ्यो उनीहरु व्यावसायिक योजना बनाउन व्यस्त थिए ।

पहिलो चरणमा बैंकले २४ जना टुरिस्ट गाइडलाई साढे ३ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरेको हो । यो क्षेत्रका कम्तिमा पनि १०० जना टुरिस्ट गाइडलाई सस्तो ऋण दिने योजना रहेको बैंकका सीइओ शेरचनले जानकारी दिए ।

‘एकपटक आफ्नो थातथलो छोडेर हातमुख जोड्न अन्य स्थानमा गएको मान्छे फेरि त्यहाँ फर्किने संभावना कम हुन्छ,’ उनले भने, ‘उनीहरुलाई अहिले त्यहाँ टिकाउन सकिएन भने भोलि पर्यटक आउँदा घुमाउने मान्छेसमेत पाइँदैन ।’

आइडिया स्टुलियोले यहाँका टुरिस्ट गाइडहरुको पहिचान गरेको हो । आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले यसअघि नै कोरोना प्रभावित टेम्पो चालक र शिक्षकहरुलाई पनि बिनाधितो सहुलियतपूर्ण ऋण उपलब्ध गराइसकेको छ ।

‘बैंकहरु दुखका सारथी हुन् भन्ने अनुभूति दिलाउनका लागि पनि हामीले यस्तो काम गरेका हौं,’ शेरचनले भने ।

फाक्लिङमा प्रभु बैंकको शाखा छैन । आफ्नो शाखै नभएको ठाउँमा आएर आफूहरुलाई बैंकले विनाधितो ऋण दिएकोमा स्थानीय अत्यन्तै खुसी देखिन्थे । यो ठाउँमा शाखा खोलेर दैनिक बैंकिङ सेवा दिन उनीहरुले आग्रहसमेत गरे ।

‘दुखका बेला घरमै आएर प्रभु बैंकले पीडामा मल्हम लगाउने काम गरेको छ,’ स्थानीय एक होटेल सञ्चालकले भने, ‘हामीलाई दैनिक सेवा दिन प्रभु बैंकले यहाँ शाखा पनि खोलोस् । हामी अन्य बैंकमा कारोबार नै गर्दैनौं ।’

यो ऋणको सदुपयोग गरेको खण्डमा भोलिका दिनमा शाखै खोलेर व्यावसायिक कर्जा प्रदान गर्न बैंक तयार रहेको शेरचनले प्रतिवद्धता जनाए ।

‘तपाईंहरुले अहिले थोरै ऋण पाउनु भएको छ, तर यो भनेको बैंकसँग नजिकिएर काम गर्ने सुनौलो अवसर पनि हो, तपाईंहरु काम गरेर देखाउनुहोस् हामी भोलिका दिनमा यहीँ आएर व्यावसायिक कर्जा पनि दिन्छौं,’ उनले भने ।

खुम्बु क्षेत्रमा कृषि उत्पादनको संभावना रहेको उल्लेख गर्दै स्थानीयलाई स्याउ, आलु, चिज लगायत उत्पादन गर्न शेरचनले सुझाए ।

‘यस्तो उच्च हिमाली भेगमा उत्पादन गरिएको अग्र्यानिक कृषि वस्तुको माग ठूलो छ, तपाईंहरुले यसलाई वैकल्पिक पेशा बनाउनु भयो भने पनि राम्रो आम्दानी गर्न सक्नुहुन्छ,’ उनले भने, ‘तपाईंहरु आँट गर्नुहोस्, प्रभु बैंकले साथ दिन्छ ।’