एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले के चीनमा जासूसी गरिरहेको छ ? वा उसले आफना कारहरुमा जासुसी संयन्त्र त फिट गरेको छैन ? के टेस्लाको कार आफैंमा जासुसी संयन्त्र हो ?
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यी र यस्ता आसयमा समाचार सार्वजनिक भएका छन् । ती समाचारलाई अधिकांशले स्रोत भनेर उल्लेख गरेका छन् । तर, स्रोतको बारेमा भने कहीँ कतै बताइएको छैन ।
विशेषगरी पश्चिमा सञ्चार माध्यमले एलन मस्क प्रमुख रहेको टेस्लाको कारले चीनमा जासुसी गरेको भन्दै बेइजिङले प्रतिवाद गरेको समाचार प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
पश्चिमा सञ्चारमाध्यमको समाचार सामग्रीलाई भारतीय सञ्चार माध्यमले समेत प्रमुखताका साथ स्थान दिएका छन् । खासमा भएको के हो ? के टेस्लाका कार सोही दिशामा छन् वा यो फगत आरोपका लागि आरोपमात्रै हो भन्ने पनि कहीँ कतै देखिँदैन ।
चिनियाँ जनमुक्ति सेनाले टेस्लाको कारमा जडान गरिएको क्यामेराका बारेमा प्रश्न उठाएपछि यो विषय बाहिर आएको हो ।
यस्तो विवरण सार्वजनिक भएपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्नो कम्पनीले बनाउने कारमा जासुसी संयन्त्र जडान भएको भन्ने आरोप पुस्टि भए कम्पनी नै बन्द गरिदिए हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् ।
चिनियाँ सेनाको उक्त आरोपपछि पहिलो पटक मस्कले प्रतिक्रिया दिएका छन् । उनले आफूहरु कार निर्माणमा मात्रै लागेको र अरु विषय आफूहरुलाई मतलबको विषय नभएको बताएका छन् ।
अमेरिकी कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले चीनले जनाएको आपत्तिका विषयमा समेत जानकारी दिएका छन् ।
उनले भनेका छन् कि विद्युतीय कारमा कुनै पनि जासुसी क्यामरा तथा अन्य संयन्त्र जडान भएको पुष्टि भए, आफू कम्पनी नै बन्द गर्न तयार छु । चिनियाँ सेनाले आफनो परिसरमा टेस्लाको कार प्रवेशमा रोक लगाएपछि उक्त विवरण सार्वजनिक भएको थियो ।
एक प्रमुख चिनियाँ फोरममा भर्चुअल छलफलमा भाग लिँदै मस्कले भनेका छन् हाम्रो साथमा कुनै पनि सूचना लाई गोप्य राख्ने केही कारण भने रहेका छन् ।
उनले यदि चीन वा अन्यत्र कही कतै कुनै पनि सवारी साधनमा जासुसीका लागि आफूहरु प्रयोग भएको भन्ने पुस्टि भए, टेस्ला बन्द गरिदिए हुन्छ भन्ने समेत बताए ।
अन्तर्राष्ट्रिय मिडिया विवरणमा भनिएको छ कि चिनियाँ सेनाले टेस्लाको कारमाथि मिहिन अध्धयन गरिरहेको छ । उसले आफनो परिसरमा कुनै पनि टेस्लाका कारलाई प्रवेशमा रोक लगाएको छ ।
यसको पछाडि कारमा जडान गरिएको क्यामेरा तथा अन्य संयन्त्रमाथि प्रश्न उठाएको छ । कारमा जडान भएको क्यामेरा सुरक्षा चिन्ता जनाउने खालको रहेको चिनियाँ सेनाको भनाइ छ ।
प्रतिबन्धसँग जोडिएको यो विवरण यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला अमेरिका र चिनियाँ अधिकारीबीच व्यापार युद्धलाई पूर्णरुपमा पूर्णविराम लगाउने ध्येयका साथ अमेरिकाको अलास्कामा छलफल गरिरहेका छन् । अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण अमेरिका र चीनको बीचमा व्यापारयुद्ध चल्यो ।
एकले अर्कालाई स्वीकार नै गर्न नसक्ने अवस्थामा पुग्यो । नयाँ निर्वाचनपछि आएका जो वाइडेन तुलनात्मक रुपमा चीनप्रति उदार देखिएपनि खासमा नीतिगतरुपमा भने केही जटिलता रहेको बताइन्छ ।
जो वाइडेन कार्यकारी प्रमुखमा आएपछि पहिलो पटक दुई देशका अधिकारीबीच वार्ता भइरहेको बेला टेस्लाको कारको विषयमा जासुुसीको प्रश्न जोडिएको छ ।
चीन संसारकै सबैभन्दा ठूलो कार बजार हो । त्यसमा पनि विशेषगरी विद्युतीय कारका सन्दर्भमा बढी प्रतिस्पर्धा रहेको छ ।
पछिल्लो वर्षमात्रै चीनमा १ लाख ४७ हजार ४४५ कार बिक्री भएको थियो । जबकी टेस्ला चीनको घरेलु कार निर्माता कम्पनी नियो इन्कसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।
चिनियाँ विद्युतीय कार निर्माता कम्पनी हाङ गुहाङ्गको मिनी इभीलाई गत जनवरीमा टेस्लाको मोडल ३ ले पछाडि सारेको छ ।
SHARE YOUR THOUGHTS