सनराइज बैंकको ७२औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङको फक्ताङलुङमा « Eglish Khabarhub

सनराइज बैंकको ७२औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङको फक्ताङलुङमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–६, लेलेप, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । बैंकले शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिकारुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।

आइतबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा फक्ताङलुङ गाउँ कार्यपालिकाका सदस्य पेम्बा फुटी शेर्पा, अध्यक्ष ग्याजो भोटिया, निर्माण व्यवसायी तथा समाजसेवी जसबहादुर चेम्जोङ, स्थानीय व्यवसायी तथा समाजसेवी पेम्बा छिरीङ शेर्पा समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सनराइज बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Publish on: