८ महिनामा बैंकको नाफा ४७ अर्ब, वाणिज्य बैंकहरुको घट्यो, विकास बैंक र वित्त कम्पनीको बढ्यो « Eglish Khabarhub

८ महिनामा बैंकको नाफा ४७ अर्ब, वाणिज्य बैंकहरुको घट्यो, विकास बैंक र वित्त कम्पनीको बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्त कम्पनीको खुद नाफा २.५६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ४५ अर्ब ९६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । जुन चालु आवको सोही अवधिमा १ अर्ब १७ करोड ५० लाख रुपैयाँले बढेर ४७ अर्ब १३ करोड ८० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

समस्त बैंक तथा वित्त कम्पनीको कुल नाफा बढे पनि सो अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा भने १.०४ प्रतिशतले घटेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको फागुन मसान्तसम्म ४२ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएका थिए । जुन चालु आवको सोही अवधिमा ४४ करोड १० लाख रुपैयाँले घटेर ४१ अर्ब ९५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा घटे पनि विकास बैंक र वित्त कम्पनीको नाफा भने बढेको छ । गत आवको फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा विकास बैंकहरुको ४३.७८ प्रतिशत र वित्त कम्पनीहरुको ५२.९४ प्रतिशतले खुद नाफा थप भएको हो ।

गत आवको फागुन मसान्तमा विकास बैंकहरुले २ अर्ब ९५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । जसमा चालु आवको सोही अवधिमा १ अर्ब २९ करोड २० लाख रुपैयाँले थप गरी ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ पुर्याएका छन् ।

यस्तै, गत आवको फागुन मसान्तसम्म वित्त कम्पनीहरुले ६१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । जुन चालु आवको सोही अवधिमा ३२ करोड ४० लाख रुपैयाँले थप भएर ९३ करोड ६० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

हाल २७ वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रियस्तरका गरी १९ वटा विकास बैंक र २० वटा वित्त कम्पनीले बैंकिङ कारोबार गरिरहेका छन् । गत आवको सोही अवधिमा २७ वाणिज्य २३ विकास बैंक र २२ वटा वित्त कम्पनीहरु सञ्चालनमा थिए ।

Publish on: