विदेशी विनिमय सञ्चिती १४ खर्ब ३६ अर्ब, १२.५ महिनाको वस्तु आयात गर्न पुग्ने

विदेशी विनिमय सञ्चिती १४ खर्ब ३६ अर्ब, १२.५ महिनाको वस्तु आयात गर्न पुग्ने


काठमाडौं । नेपाल राष्ट्र बैंका अनुसार नेपालमा विदेशी विनियम सञ्चिती १४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१२६६ अर्ब १० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा फागुन मसान्तमा ३.० प्रतिशतले कमी आई रु.१७० अर्ब ४४ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.४ प्रतिशत, ९४.५ प्रतिशत र ३०.५ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.५ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य द्दद्ध। अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ फागुन मसान्तमा १०८.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६८.८७ पुगेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १५६२.८० रहेकोमा २०७७ फागुन मसान्तमा ९.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०४.८० पुगेको छ ।

गत असार मसान्तको तुलनामा २०७७ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ७.७ प्रतिशतले अवमूल्यन भएको थियो ।

फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११६.१६ पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर रु.१२०.३७ रहेको थियो ।