नापी विभागले शुरू गर्याे ‘मेरो कित्ता’ र ‘नेलिस’ सेवा, जग्गाको नक्सा प्रिन्ट गर्न कार्यालय जानु नपर्ने

नापी विभागले शुरू गर्याे ‘मेरो कित्ता’ र ‘नेलिस’ सेवा, जग्गाको नक्सा प्रिन्ट गर्न कार्यालय जानु नपर्ने


काठमाडौं । नापी विभागले आफ्नो सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न थालेको छ ।

विभागले सेवाग्राहीको सहजताको लागि ‘मेरो कित्ता’ र ‘नेलिस’ प्रणालीको विकास गरी आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

विभागका अनुसार उक्त प्रणाली उपत्यकाका तीनवटा नापी विभागमा शुरु भइसकेको छ । उपत्यकामा आजैदेखि कलंकी, डिल्लीबजार र भक्तपुरमा शुरु गरिएको छ ।

साथै चालु आर्थिक वर्षभित्रमा उपत्यकाका सबै नापी विभाग र आगामी वर्षमा देशभरका नापी विभागका उक्त प्रणाली शुरु गर्ने विभागको लक्ष्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ र ‘नेलिस’ प्रणालीको विकाससँगै अर्को नयाँ कार्यको शुरुवात भएको बताए ।

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको अवधारणालाई पूरा गर्नका लागि एक पछि अर्को नयाँ कार्यको शुरु भई जनताको आकांक्षालाई पूरा गर्न सरकार लागि परेको बताए ।

‘जग्गा सम्बन्धि नाप नक्सा राख्ने नापी विभागले सेवाग्राहीको सहजताका लागि प्रविधि विकास गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा पनि विभिन्न क्षेत्र तथा मन्त्रालयका प्रविधिको विकास गरी सहज बनाउने योजना अघि बढिरहेको छ ।’

विगतको दिनमा पनि समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्नको लागि विभिन्न प्रविधिको विकास गर्दै आएकाले आगामी दिनमा पनि अझै प्रभावकारी बनाउनका लागि सरकारले प्रविधिको विकासमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

त्यस्तै, भूमि व्यवस्था, व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले ‘मेरो कित्ता’ र ‘नेलिस’ प्रणालीको विकासले प्रविधिमा एक सिँढी चढेको बताइन् ।

नापी विभागले नाप नक्साको सेवा प्रवाहलाई अनलाइनमार्फत शुरु गरेकाले सेवाग्राहीले सहज रुपमा सेवा लिन पाउने दावी गरिन् ।

‘विगतका दिनमा जग्गा कारोबार गर्दा विभिन्न झन्झट, सास्ती तथा अप्ठ्यारो भोग्नुपरेको अवस्था थियो,’ मन्त्री तुम्बाहाङफेले भनिन्, ‘अबको दिदनमा उक्त झन्झट तथा अप्ठ्यारा निकासाको लागि अनलाइन प्रणालीको विकास गरेको हो ।’

मन्त्री तुम्बाहाङफेले सरकारी सेवाहरू छिटोभन्दा छिटो प्रदान गर्नका लागि सरकारले पेपरलेस, फेसलेस र क्यासलेस बनाई सहज तरिकाले सेवा प्रदान गर्न सकोस भन्ने हेतुले उक्त प्रणालीको विकास गरेको जिकिर गरिन् ।

साथै, जग्गा सम्बन्धी नापी विभाग र कालपोत कार्यालयको बारेमा धेरैभन्दा धेरै गुनासो आएको हुनाले कर्मचारी, सेवाग्राही र सेवा प्रवाहमा पुलको काम गर्ने समूहललाई नरोकेसम्म बेतिथी समाधान गर्न नसक्ने जिकिर गरिन् । सोही गुनासोलाई सम्बोधन गर्नको लागि ‘मेरो कित्ता’ र ‘नेलिस’ को विकास गरेको मन्त्री तुम्बाहाङफेको भनाइ छ ।

यसरी लिन सकिन्छ सेवा
राष्ट्रिय नापी नक्साको रुपमा कार्यरत नापी विभागले नाप नक्साको क्षेत्रलाई नवीनतम प्रविधिहरू अबलम्बन गरी नाप नक्सा र सेवा प्रवाहको ‘मेरो कित्ता’ र ‘नेलिस’ अनलाइन प्रणाली शुरु गरेको छ ।

प्रयोगकर्ताको डाटा पूर्ण रुपमा संरक्षण र प्रयोगको हिसाबले सहज रुपमा प्रयोग गर्न सकिनेछ । यसबाट देशभरका नापी कार्यालयहरूको कित्ता नापी सम्बन्धि विवरणहरू केन्द्रीय सर्भरमा भण्डारण हुने र केन्द्रबाट नै नापी कार्यालयहरूको सेवा प्रवाहको अवस्था तथा राजश्व संकलनको विवरणसमेत सजिलै प्राप्त गर्न सक्नेछन् ।

नेलिस नाप नक्साबाट संकलित विवरण तथ्याङ्कको प्रयोगद्वारा जग्गा दर्ता तथा नक्सा अध्यवधिक गरी सेवा प्रवाह गर्ने प्रणाली हो ।

मेरो कित्ता अनलाइनमार्फत् नक्सा, फिल्डबुक र ब्लड रजिष्टर प्रिन्ट सम्बन्धि सेवा प्रवा गर्ने प्रणाली हो । यसका लागि मेरो कित्ता डट डिओएस डट जीओभी डट एनपी पेजमा लगइन गर्न सक्नेछन् ।

अनलाइनमार्फत् राजश्व भुक्तानी
प्रयोगर्ताले सेवा प्राप्त गर्नका लागि उक्त पेजमार्फत् आफ्नो र जग्गाको आवश्यक विवरणहरू प्रविष्ट गरी जग्गा धनी प्रमाणपत्र, पूर्जा र नागरिकताको प्रमाणपत्र स्क्यान गरेर अपलोड गरी सकेपछि सेवाग्राहीले सेवा प्राप्तिका लागि रिक्वेस्ट सब्मिट गर्न सक्नेछन् ।

यसरी रिक्वेस्ट सबमिट गरिसकेपश्चात सेवाग्राहीले यसअघि प्रविष्ट गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ओटीपी प्राप्त हुनेछ । अनलाइनमार्फत् प्राप्त भएको सेवाग्राहीको अनुरोध सम्बन्धित नापी कार्यालयले आधिकारिक भए नभएको भेरिफाई गर्नेछ ।

सेवाग्राहीको आधिकारिक भएमा राजश्व भुक्तानीको एसएमस प्राप्त हुनेछ । तर, आधिकारिक नदेखिएको अवस्थामा सेवा प्रवाह नहुने एसएमएस मोबाइलमा आउनेछ । त्यसैगरी, अनुरोध भई आधिकारिक भएमा राजश्व भुक्तानीको लागि विद्युतिय माध्यमबाट अनलाइन मार्फत नै राजश्व भुक्तानी गर्न सक्नेछन् ।

राजश्व भुक्तानी भएपश्चात सेवाग्राहीको अनुरोध सम्बन्धित प्रणालीमा आबद्ध हुनेछ । जसमा सेवाग्राहीले आफुले अनुरोध गरेको सेवासँग सम्बन्धित डकुमेन्टको लिङ्क मेरो कित्ता डीओएस जीओभी डट एनपीमार्फत् प्रिन्ट गरी डाउनलोड गर्न सक्नेछन् ।

एक हप्तासम्म डकुमेन्ट डाउनलोड गर्न मिल्ने
उक्त पेजमा सम्बन्धित डकुमेन्ट लिङ्क एक हप्तासम्म मात्र उपलब्ध हुनेछ । एक हप्ताभित्र उक्त पेजमार्फत डाउनलोड गररी प्रयोग नगरेमा सेवा प्राप्तिका लागि पुनः प्रविष्ट गर्नुपर्ने हुन्छ ।

यसमा संस्थागत सेवाहरू बैंक तथा वित्तिय संस्था र स्थानीय तहहरूले मेरो कित्ता प्रणालीको प्रयोगबाट सेवा प्राप्त गर्न सक्नेछन् । संस्थागत प्रयोगकर्ताका रुपमा दर्ता भई यूजर नेम तथा पासवर्ड प्राप्त गरी आवश्यक सेवा प्राप्त गर्न सक्नेछन् ।

यस प्रणालीको माध्यमबाट कार्यालयमा हुने सेवाग्राहीको भीडभाड न्यून हुँदा रोगब्याधीको संक्रमणबाट महामारीको जोखिम न्यून हुने विभागले जनाएको छ ।

साथै, प्रविधिको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनुको साथै जग्गा प्रशासन सेवामा पार्दशिता, सुशासन कायममा योगदान पुग्ने विभागले विश्वास लिएको छ ।