एजेन्सी । कोरोनाले संसारभरकै अर्थतन्त्रमा देखिने नदेखिने सबै खालका समस्या पैदा गरेको छ ।
सर्वशक्ति सम्पन्न मानिएका देश समेत समस्यामा परिरहेको बेला मध्यम र साना अर्थतन्त्र भएका देश समेत समस्यामा परेका छन् ।
विशेष गरी नाइजेरियाको अर्थतन्त्र तेलमा निर्भर रहेको छ । तेल मूल्यमा आएको उच्च गिरावटका कारण सो देशको अर्थतन्त्र नै धान्न नसकिने अवस्थामा पुगेको छ । सोही अवस्थालाई मध्यनजर गरेर सो देशले झण्डै ४ खर्ब ५० अर्ब बराबरको वैदेशिक सहयोग लिने प्रस्ताव पारित गरेको छ ।
समाचार विवरणहरु अनुसार त्यहाँको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ ।
नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा आएको उतारचढाब र कोभिड–१९ महामारीका कारण प्रभावित अर्थव्यवस्थालाई सहयोग पुर्याउन नाइजेरियाले ऋण लिन लागेको हो ।
सिनेटले अनुमोदन गरेको रकममध्ये १.५ अर्ब डलर बिदेशी दातृ निकायबाट ऋण लिइने छ भने ९९ करोड ५० लाख युरो विश्व बैंक, ब्राजिलको एक्सपोर्ट–इम्पोर्ट बैंक र डच बैंकबाट ऋण प्राप्त हुनेछ ।
अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको नाइजेरियाको कच्चा तेलको मूल्यमा आएको गिरावटले आर्थिक वृद्धिमा असर पुगेको छ ।
अफ्रिकी महादेशको सबैभन्दा ठूलो तेल उत्पादक मुलुक नाइजेरियाले विदेशी मुद्रा आयको झण्डै ९० प्रतिशत कच्चा तेल बिक्रीबाट प्राप्त गर्ने गरेको छ ।
अर्थमन्त्री जैनाब अहमदले अत्यावश्यकीय पूर्वाधार निर्माणका लागि विदेशी ऋण लिनु परेको बताएका छन् ।
मार्च २०२० मा सांसदहरुले राष्ट्रपति बुहारीको अनुरोध गरेबमोजिम २२.७ अर्ब डलर विदेशी ऋण लिन पनि स्वीकृति जनाएका थिए । यसमध्ये १७ अर्ब डलर चीनको एक्जिम बैंकले उपलब्ध गराएको थियो ।
विश्वव्यापी तेलको मूल्यमा सन् २०१६ मा गिरावट आएसँगै देशभित्र सञ्चालित योजनाहरु अघि बढाउन नाइजेरियाले विदेशबाट ठूलो परिमाणमा ऋण लिनु परेको हो ।
पश्चिम अफ्रिकी मुलुक नाइजेरिया सन् २०२० मा कूल गार्हस्थ्य उत्पादनमा निरन्तर गिरावट आएपछि अर्थतन्त्रमा मन्दीको अवस्था सिर्जना भएको थियो । तर सन् २०२१ को फेब्रुअरीदेखि अर्थतन्त्रमा सुधारका संकेत देखिएका थिए । पुनः कोरोनाको दोस्रो लहर फैलिएपछि अर्थतन्त्रमा थप चाप पर्ने सम्भावना बढेर गएको छ ।
SHARE YOUR THOUGHTS