काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कुनै नयाँ कार्यक्रम र योजना राख्न नपाउने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा पुराना कार्यक्रमबाहेक चुनावलक्षित कुनै कार्यक्रम नल्याउन ध्यानाकर्षण गराएका हुन् ।
‘२०७८ कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्दान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति तथा कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै निर्वाचन आयोगले सरकारलाई चुनाव लक्षित कार्यक्रम नल्याउन सजग गराउनुपर्ने पनि पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको भनाइ छ ।
‘आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई सगज गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै बुधबार मात्र ५ जना पूर्वअर्थमन्त्रीहरुले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको अवस्थामा सरकारले जेठ १५ मा अध्यादेशमार्फत् पूर्णबजेट ल्याउनु संवैधानिक नहुने भन्दै सरकारलाई चेतावनी दिएका थिए ।
SHARE YOUR THOUGHTS