काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई पूर्वाधार निर्माणका लागि २० अर्ब ३१ करोड बजेट बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण, लगानीको ढाँचा निर्धारण र तदनुरुपको पूर्वाधार विकास एवम् सञ्चालनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता छनौट गरिनेछ। आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्व तयारीका कार्य सम्पन्न गरिनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको मौलिक सँस्कृति झल्किने बुटिक विमानस्थलमा रूपान्तरण गर्न प्रारम्भ गरिएको स्तरोन्नति कार्य सम्पन्न गरिनेछ। यस विमानस्थलको हवाई चापलाई सम्वोधन गर्न ट्क्यासी-वे विस्तार, पाकिङ्ग-वे निर्माण सम्पन्न गरिनेछ। टर्मिनल भवनको स्तरोन्नति आरम्भ गरिनेछ। यसका लागि रु ६ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्ष सञ्चालनमा ल्याउन रु ८ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार निर्माण आरम्भ गर्न रु ३ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।
आन्तरिक विमानस्थल विस्तार, स्तरोन्नति र आधुनिकीकरणलाई निरन्तरता दिइनेछ। ईलामको सुकिलुम्बा, गुल्मीको सिमीचौर र डोल्पाको मसिनचौरमा परीक्षण उडान गरिनेछ।
चन्द्रगढी, राजविराज, तुम्लिङ्गटार, जनकपुर, धनगढी, अर्घाखाँची, स्वर्गद्वारी, पाटन, दार्चुला लगायतका विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिनेछ।
सुर्खेत र भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति गरिनेछ। नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गरिनेछ। वातावरणीय प्रभाव मुल्याङ्कन सम्पन्न गरी दाङ्गको नारायणपुर विमानस्थल निर्माण कार्य प्रारम्भ गरिनेछ। आन्तरिक विमानस्थलतर्फ रु १ अर्ब ३३ करोड विनियोजन गरिएको छ ।
ओखलढुङ्गाको खिजी चण्डेश्वरी विमानस्थल सञ्चालनमा ल्याइनेछ। ताप्लेजुङ्ग सुकेटारको धावनमार्ग विस्तार कार्य सम्पन्न गरिनेछ। तेह्रथुमको चुहानडाँडा विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइनेछ।
सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गरिनेछ।
आकस्मिक स्वास्थ्य सेवा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक कार्यका लागि आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा हेलिप्याड निर्माण सम्पन्न गरिने उल्लेख छ ।
SHARE YOUR THOUGHTS