कर्जा नदिने विज्ञप्ती जारी गरेका वाणिज्य बैंकहरुले २ सातामा दिए १५ अर्ब कर्जा « Eglish Khabarhub

कर्जा नदिने विज्ञप्ती जारी गरेका वाणिज्य बैंकहरुले २ सातामा दिए १५ अर्ब कर्जा



काठमाडौं । निषेधाज्ञाबीच बैंकहरुले दिने अत्यावश्यक बाहेक कर्जा सेवा हट्दा पनि १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघले गत बैशाख ३० गते एक विज्ञप्ती जारी गर्दै ५ वटा अत्यावश्यक सेवाहरुमात्र बैंकमा सीमित शाखा खोली सुचारु गरिने उल्लेख गरेको थियो ।

जुन अत्यावश्यक सेवामा कर्जा प्रवाह भने राखिएको थिएन । तर यसबीच नै अर्थात बैशाख मसान्तदेखि जेठ १४ गतेसम्म १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्यहरुले बैशाख मसान्तसम्म ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन जेठको दोस्रो सातासम्म आइपुग्दा १५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जेठको पहिलो साता बैंकहरुले ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरु मार्फत निम्न अनुसार खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण , विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सेवामात्र सुचारु गर्ने उल्लेख गरेको थियो ।

संघले ५ वटा अत्यावश्यक सेवाहरुमात्र सुचारुको विज्ञाप्ती जारी गर्नु अगावै स्वीकृत प्रतित पत्र र सेयर कर्जा बैंकहरुले प्रवाह गरेको हुन सक्ने अनुमान संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘अहिले बन्द भएको अवस्थामा पनि गएको कर्जा भनेको पहिलै खोलेको एसीहरुको भुक्तानीका कारणले आयात कर्जा गएको हुनुपर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘पहिले नै स्वीकृत भएका सेयर लोन पनि फाट्टफुाट्ट गएको हुनसक्छ भने यसबीच अपवादमा केही बैंकहरुले पहिले स्वीकृत भएको अन्य शिर्षकका कर्जा निष्काशन गर्नु भएको छ भन्ने सुन्नमा आएको छ ।’

बन्दको अवस्थामा बैंकिङ प्रणालीबाट निष्काशित अधिकांश कर्जा देश बाहिरिएको उनको अनुमान छ । सो अवधिमा निक्षेपमा वृद्धि नभएको हुँदा आयात कर्जा एलसी भुक्तानीमा प्रयोग हुँदा देश बाहिरीएको हुन सक्ने उनको भनाइ छ ।

जेठको २ सातामा वाणिज्य बैंकहरुमा निक्षेप भने १ अर्ब रुपैयाँमात्र थप भएको छ । गत बैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । जुन जेठ १४ गतेसम्म आइपुग्दा १ अर्ब रुपैयाँ थप भएर ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । जेठको पहिलो सातामा वाणिज्य बैंकहरुमा ३९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप थियो ।

Publish on: