काठमाडौं । बुधबारको कारोबारको शुरुवातमै नेप्से परिसूचक हालसम्म कै उच्च अंक छोएको छ । बुधबार प्रि–ओपनिङमा ३५ अंकले बढेको नेप्से परिसूचक ११ बजे कारोबार शुरु हुने वित्तिकै ३ हजारको अंक छोएको हो ।
पछिल्लो समय सेयर बजारमा सूचिकृत भएका नयाँ कम्पनीका साथै अन्य कम्पनीको सेयर मूल्यमा उछाल आउँदा नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको हो ।
चालु आवको १० महिनामा विभिन्न कम्पनीको आइपीओमार्फत् सेयर बजारमा ७८ अर्बको पुँजी परिचालन भएको छ । त्यसबाहेक अन्य कम्पनीको सेयर मूल्यमा उछाल आउँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल धितोपत्र बोर्डले मंगलबार नै सेयर लगानीकर्तालाई सोच बिचार गरी प्राविधिक विश्लेषणका आधारमा मात्रै लगानी गर्न आग्रह गर्दै पछिल्लो समय बजारमा केही कम्पनीको सेयरमा कर्नरिङ भएकोमा अध्ययन शुरु गरेको बताउँदै लगानीकर्तालाई सचेत गराएको थियो ।
बोर्डका अनुसार पछिल्लो एक वर्षमा १७ गुणाबढीले बढेका अनलाइन प्रयोगकर्ता, नयाँ कम्पनीको आगमन, आइपीओमार्फत् सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताका कारण सेयर बजारमा उछाल देखिएको हो ।
त्यति मात्रै होइन, चालु आवमा सेयर कारोबार बढेसँगै सेयर बजारमार्फत् सरकारले प्राप्त गर्दै आएको पुँजीगत लाभकर पनि साढे १० अर्ब पुगिसकेको छ । यो २८ वर्षको इतिहासमा सबैभन्दा उच्च भएको बोर्डका अध्यक्ष भिष्म ढुंगानाको भनाइ छ ।
‘गत वर्ष १ अर्ब मात्रै पुँजीगत लाभकर संकलन भएकोमा यस वर्ष एक महिना मै १ अर्बभन्दा बढी पुँजीगत लाभकर प्राप्त भइरहेको छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS