
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई उधारो पोलिसी बिक्री नगर्न निर्देशन दिएको छ ।
समितिले कम्पनीहरुलाई बीमा वापतको पैसा बैंक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न निर्देशन दिएको हो ।
सोमबार समितिले एक सूचना जारी गर्दै भनेको छ, ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । बीमकले जोखिम ग्रहण गरे बापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा मानिनेछ ।’
सो व्यवस्थाको जानकारी गराउँदै समितिले कम्पनीहरुलाई समेत असार मसान्तमै पत्र पठाइसकेको छ ।
कम्पनीहरु ऐन बिपरीत उधारो बीमा गर्ने चेकमार्फत् प्राप्त हुने बीमा शुल्क खातामा प्राप्त नभइ बीमा लेख जारी गर्ने गरेका उजुरी र गुनासो आएको हुँदा सो निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।
‘विभिन्न पत्रपत्रिकामार्फत् र समितिमै पनि यस विषयमा उजुरी आएपछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘जीवन निर्जीवन दुवै कम्पनीमा उधारो बीमा विकृतिको रुपमा नै छ, यो निर्देशनको कार्यान्वयन पनि यसकोे अन्त्य हुन्छ ।’
उक्त निर्देशनलाई उल्लघंन गर्दै कम्पनीहरुले उधारो बीमा पोलिसी बिक्री गरेको पाइएमा समितिले कारवाही गर्ने उनले बताए ।
‘कम्पनीहरुको हरेक काम कारवाहीको समितिले फिल्ड सुपरीवेक्षण गरिरहेको हुन्छ,’ उनले थपे, ‘यदि कुनै कम्पनीले उधारो बीमा पोलिसी बिक्री गरेको पाइएमा हर्जना तिराउनेदेखि शाखा विस्तारमा रोक, कारोबार रोक्का, पोटफोलियो नै रोकिन सक्ने र लाभांश वितरणमा समेत रोक्का हुन सक्छ ।’
समितिले जारी गरेका नीति निर्देशन पालना नगरी व्यवसाय गर्ने कम्पनीलाई ऐन अनुसारको कारवाही गर्न समिति पछि नहट्ने उनको भनाइ छ ।
बीमा कम्पनीहरुले राम्रो पर्फर्मेन्स देखाउनका लागि पनि त्रैमासको अन्त्यमा वा आर्थिक वर्षको अन्त्यमा बढी उधारो बीमा गर्ने गरेको पाइन्छ ।
जोखिम बहन वापतको पैसा बीमकले प्राप्त नै नगरी बीमा लेख बिक्री गर्दा भविश्यमा यसले बीमा सक्बन्धी नराम्रो सन्देश जानुका साथै दुर्घटना समेत निम्त्याउने समितिका कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।
समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्नो बैंक खातामा बीमाशुल्क बापतको रकम प्राप्त भएको बैंक स्टेटमेन्टमा देखिएपछि मात्र बीमा लेख जारी गर्न सक्नेछन् ।
SHARE YOUR THOUGHTS