पठाओ ट्याक्सी आज सित्तैमा बुक गर्न सकिने « Eglish Khabarhub

पठाओ ट्याक्सी आज सित्तैमा बुक गर्न सकिने



काठमाडौं। पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजेदेखि २ः०२ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत् कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।

क्याप्टेनले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत ब्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकाले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा शुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुराँका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा शुरू गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि शुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि शुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।

Publish on: