५६ अंकले घट्यो नेप्से, डेढ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट « Eglish Khabarhub

५६ अंकले घट्यो नेप्से, डेढ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट



काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको सेयर बजार राताम्मे भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ ।

मंगलबारको कारोबारमा नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा सीमित भएको छ । यो दिन २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा कारोबार भएको छ । जसमा १५९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा फाइनान्स र निर्जीवन बीमा कम्पनीहरुको सवइन्डेक्समा सामान्य वृद्धि भए पनि अन्य उपसमूहमा गिरावट देखिएको छ । सबैभन्दा बढी जलविद्यत् उपसमूहमा ६.२१ प्रतिशतले गिरावट आएको छ । साथै विकास बैंकमा ३.९८ प्रतिशतको गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा करिब डेढ दर्जनबढी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, एचआइडीसीएललगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Publish on: