![](https://internal.appharu.com/wp-content/uploads/2020/01/bhisma-raj-dhungana-1.jpg)
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ चन्द्र साउँदको राजीनामा आइसकेपछि ढुंगानाले पनि राजीनामा दिने आँकलन गरिएको थियो ।
तर ढुंगानाले क्लिकमाण्डूसँगको कुराकानीमा आफूले कुनै गल्ती नगरेको दावी गर्दै आफूले पदबाट राजीनामा नदिने बरु निलम्बनमा परे अदालत जाने बताए ।
सर्वोत्तम सिमेन्टको ओटीसीमाध्यमबाट अनियमित रुपमा सेयर खरिद गरेको प्रकारणमा छानबिन गर्न बनेको कमिटीले उनलाई निलम्बनको सिफारिस गर्ने तयारी गरे रहेका बेलामा मंगलबार नेप्से सीइओले राजीनामा दिइसकेका छन् ।
सेबोन अध्यक्ष ढुंगानाकी छोरीले सर्वोत्तम सिमेन्टको सेयर ओटीसीमाध्यमबाट खरिद गरेको पाइएपछि उनी विवादमा मुछिएका हुन् ।
‘कानून सम्मत नै कारोबार भएको छ, कानून बाहिर गएर केही सबैले आ–आफ्नो हिसाबले तर्क गरिहेका छन्,’ सेबोन अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘कानूनीरुपमा मैले गल्ती गरेको हो भने प्रमाणित गर्नुपर्छ, अहिलेसम्म छानबिन समितिले समेत मसँग प्रत्यक्ष कुरा गरेको छैन ।’
‘निलम्बनमा परे न्यायका लागि अदालत छँदैछ, नियमसंगत बर्र्खास्त गर्नु उनीहरुको काम हो,’ अध्यक्ष ढुंगानाले भने ।
अर्थसमितिले टुङ्गाइ सकेको कुरालाई मन्त्रालयमा छानबिन कमिटी गठन गरेर थप छानबिन गर्न आवश्यक नभएको उनको तर्क छ ।
‘अर्थसमितिले उपसमितिनै गठन गर्नु पदैन, निलम्बन गरेर कारवाही गर्नुपर्दैन, छानबिन गर्दै हो भने त्यसलाई छिटो टुङ्गाएर काम गर्न मार्ग प्रशस्त गरिदिने हो,’ उनले भने ।
SHARE YOUR THOUGHTS