काठमाडौं । सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् बिलेटमा लाग्ने अन्तःशुल्क बढाएसँगै उद्योगीहरु विभाजित भएका छन् ।
बिलेट उत्पादन गर्ने उद्योगीले सरकारको निर्णयको स्वागत गरेपनि भारतबाट बिलेट ल्याएर नेपालमा फलामे डण्डी उत्पादन गर्दै आएका उद्योगीहरुले त्यसको विरोध गरेका हुन् ।
सरकारको नीतिले फलामे डण्डी उत्पादन गर्ने उद्योगीहरुको संस्था नेपाल स्टील रोलिङ मिल एशोसियन नै विभाजन हुने संकेत देखिएको छ ।
सोमबार एशोसियनको नाममा आयोजना भएको पत्रकार सम्मेलनमा बिलेट उत्पादन गर्ने उद्योगीहरु सहभागी थिएनन् ।
बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगीहरु पत्रकार सम्मेलनमा सहभागी थिए । सरकारले ल्याएको नीतिले २४ वटा स्टील उत्पादक कम्पनी धराशायी हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले बताए ।
‘स्टील उद्योगको लागि चाहिने कच्चा पदार्थ बिलेटको अन्तशुल्क बढाएपछि २४ वटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्, सरकारले केही व्यवसायीको हित गर्न खोज्दा २४ वटा उद्योगमा भएको लगानी डुब्ने भयो,’ पञ्चकन्या स्टीलका सञ्चालक समेत रहेका श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।
उनले नेपालमा उत्पादन हुने बिलेटको गुणस्तरमा समेत प्रश्न रहेको भन्दै सरकारले बिलेट उत्पादन उद्योगीलाई फाइदा हुने गरेर करमा सहुलियत दिएको बताए ।
साखः स्टीलका सञ्चालक किरणकुमार साखःले सरकारले केही उद्योगलाई लुट्नका लागि छुट दिएको आरोप लगाए । विजुली उत्पादन बढाउने भन्दै दिएको छुटले केही व्यवसायीलाई उपभोक्तालाई लुट्ने अधिकार दिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले समय दिएर प्रोत्साहन गर्नुपर्नेमा एकैपटक ल्याएको नीतिले उद्योगहरु धराशायी हुने बताए ।
‘राज्यले दीर्घकालिन नीति लिएर स्टील उद्योगको प्रोत्साहन नीति लिनुपर्नेमा एकैपटक आएको नीतिले धेरै उद्योग धराशायी हुने भए, बिलेट उद्योगलाई प्रोत्साहन गर्ने भए दीर्घकालिन नीति लिनुपर्ने थियो,’ श्रेष्ठले भने ।
बिलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका उद्योगीले बिलेटको अन्तःशुल्क बढाएपछि डण्डीको मूल्य बढ्ने र यसको मार उपभोक्तालाई पर्ने बताएका छन् ।
SHARE YOUR THOUGHTS