![](https://internal.appharu.com/wp-content/uploads/2021/09/chaungara-768x376.png)
काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सिमित संख्या खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो ।
खाद्य कम्पनीले गत वर्ष १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने भनिएको थियो । तर, बजार मूल्यभन्दा धेरै महंगो भएपछि कम्पनीले च्याङ्ग्रा ल्याएको थिएन । यो वर्ष पनि नल्याउने तरखरमा कम्पनी छ ।
हरेक वर्ष कम्पनीले हिमाली क्षेत्र मुस्ताङ, ताप्लेजुङबाट च्याङ्ग्रा खरिद गरी ल्याउने गर्दै आएका छन् । उक्त क्षेत्रका व्यवसायीहरूले च्याङ्ग्रा तीब्बतबाट ल्याएर बिक्री गर्दै आएका थिए ।
तर, करिब दुई वर्षदेखि महामारीका कारण तीब्बतमा आवातजावत बन्द भएपछि दशैंको लागि च्याङ्ग्रा ल्याउन नसक्ने भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले बताए ।
‘कम्पनीले बजार मूल्य सन्तुलन गर्नको लागि सिमित संख्यामा बिक्री गर्दै आएका छन्,’ उनले भने, ‘यो वर्ष भने हिमाली क्षेत्रमै च्याङ्ग्राकोे अभाव भएपछि नल्याउने भएको हो ।’
कम्पनीले खसीबोका भने १६ सय ल्याउने भएको छ । साथै, बजार अवस्था हेरेर माग भएमा थप गर्ने उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS