
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सरकारलाई प्रतिवेदन बुझाएको छ ।
अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाए ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रीपरिषद्को बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे ।
सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए ।
समितिले सर्बोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरी रेविका ढुंगानाले खरिद गरेको विषयमा ढुंगानाले पदको दुरुपयोग गरेको निचोड निकालेको छ ।
छोरी विदेश भएको बेला ढुंगानाले छोरीको नाममा सेयर किन्न पैसा दिएको र उनको प्रत्यक्ष संलग्नता सेयर खरिदमा देखिएको निचोड प्रतिवेदनको छ ।
सर्वोत्तम सिमेन्टको सेयर नेप्से सीइओ चन्द्रसिंह साउदको श्रीमति शुसिला बोहराको नाममा समेत किनेको भेटिएको थियो। श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको सार्वजनिक भएपछि साउदले भने नेप्सेको सीइओ पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्