राजस्व बढाउन असफल भएको खतिवडाको नीति ब्यूताउँदै अर्थमन्त्री जनार्दन शर्मा « Eglish Khabarhub

राजस्व बढाउन असफल भएको खतिवडाको नीति ब्यूताउँदै अर्थमन्त्री जनार्दन शर्मा



काठमाडौं । दुईतिहाईको कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले पदबहालीपछि राजस्वको मुहान सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई लागू गर्ने नीति लिए ।

अर्थमन्त्री खतिवडाले भन्सारमा लागू गरेको सन्दर्भ मूल्यको नीति जुत्ता तथा कपडाका लागि राम्रो भएपनि आयात हुने अरु वस्तुका लागि ठीक थिएन । यसले पूँजी पलायन गर्ने अर्को बाटो खोल्यो । अर्थात् खतिवडाले लिएको नीतिको पूँजी पलायन गर्न सहयोगी भएको बुझाइ व्यवसायीको थियो ।

खतिवडा अर्थमन्त्री भएको बेला भेट गर्न नदिएका जनार्दन शर्मा अहिले अर्थमन्त्री छन् । अर्थमन्त्री शर्माले लक्ष्यअनुसारको राजस्व संकलन गर्नका लागि आयात हुने वस्तुको सन्दर्भ मूल्य बढाउने नीति लिने भएका छन् ।

अर्थमन्त्री शर्माको निर्देशनसँगै भन्सार विभागले आयात हुने वस्तुको सन्दर्भ मूल्य बढाउने तयारी थालिसकेको छ । भन्सार विभागका प्रवक्ता पुण्यबिक्रम खड्काले भन्सार विभागको गोष्ठी सकिएको हुँदा केही दिनमा परिवर्तन भएको सन्दर्भ मूल्य लागू हुने जानकारी दिए ।

व्यवसायीहरु भने राजस्व बढाउनका लागि सन्दर्भ मूल्य परिवर्तन गर्दा समग्र कर प्रणालीमा असर गर्ने बताउँछन् । उद्योगी पशुपति मुरारका आयात हुने वस्तुमा सन्दर्भ मूल्य लागू गर्दा समग्र कर प्रणालीमा असर हुने बताउँछन् ।

‘अहिलेको सूचना प्रणालीको युगमा कारोबार मूल्यलाई नै आधार मान्नुपर्छ, व्यवसायीले आयात गरेको मूल्यभन्दा बढी सन्दर्भ मूल्य भएपछि समग्र कर प्रणालीमा असर पर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुरारकाले क्लिकमाण्डूसँग भने ।

उनले सरकारले सन्दर्भ मूल्य लगाउन यसको मूल्य बढाउनुभन्दा भन्सारको दर नै परिवर्तन गरेको भए उपयुक्त हुने सुझाव दिए ।

उद्योगी व्यवसायीहरु कारोबार मूल्यलाई नै आधार मान्नुपर्ने र सन्दर्भ मूल्यलाई आधार मान्न नहुने बताउँछन् । विगतमा पनि सन्दर्भ मूल्यलाई आधार मान्दा समस्या हुने गरेको थियो । चिनीको मूल्य घट्दा पनि सन्दर्भ मूल्य बढी भएको हुँदा आयातकर्ताले त्यही मूल्यको आधारमा राजस्व तिनुपरेको थियो । यस्तै अवस्था अरु वस्तुमा हुने गरेको छ ।
नेपालमा आयात हुने वस्तुहरु विश्व बजारमा हरेकदिनजसो मूल्य परिवर्तन भएको हुन्छ । यसरी एउटा मूल्यमा वस्तुलाई भन्सार जाँचपास गर्ने बेलामा सन्दर्भ मूल्य बढी लिएमा समस्या हुन्छ । यसले पूँजी पलायनको खतरा समेत बढाउने गर्छ ।

भन्सार विभागले आफूलाई पूर्ण रुपमा डिजिटल बनाएर आयात भएको वस्तु कुन मूल्यमा व्यवसायीले खरिद गरेको छ त्यो समेत हेर्न सकिन्छ ।

‘व्यवसायीले खरिद गरेर ल्याएको भन्दा कम र बढीको बिल पेश गरेको शंका लागेमा भन्सारले सूचना प्रविधिको प्रयोग गरे चेक गर्न सक्छ,’ एक व्यवसायीले भने ।
((

Publish on: