दक्षिण कोरियासँग फेरि श्रम सम्झौता गर्ने सरकारको तयारी « Eglish Khabarhub

दक्षिण कोरियासँग फेरि श्रम सम्झौता गर्ने सरकारको तयारी



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियासँग सरकारले पुनः श्रम सम्झौता गर्ने तयारी गरेको छ । दक्षिण कोरियासँगको श्रम सम्झौता गत वर्षनै सकिसकेको छ । त्यसैले, सरकारले कोरियासँग श्रम सम्झौता गर्ने तयारी गरेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।

नेपालले पहिलो पटक जीटुजीमार्फत् कामदार पठाउनको लागि सन् २००७ मा श्रम सम्झौता भएको थियो । जुनसुकै देशसँग भएको श्रम सम्झौतामा म्याद सकिसकेपछि नवीकरण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नेपालले नवीकरण गर्ने तयारी गरेको हो ।

कोरियासँगको श्रम सम्झौता २० सेप्टेम्बर २०२० मै म्याद सकिएको थियो । तर, हालसम्म सम्झौता भएको छैन । त्यसैले, श्रम मन्त्री श्रेष्ठले कोरियासँगको श्रम सम्झौता टुङ्ग्याउने जानकारी दिए ।

‘कोरिया सरकारबाट बारम्बार श्रम सम्झौताको लागि पत्राचार भएको देखिन्छ,’ श्रममन्त्री श्रेष्ठले भने, ‘अब कोरिया सरकारसँग वार्ता गरी पुनः नवीकरण गर्नेछौं ।’ साथै, श्रममन्त्री श्रेष्ठले कोरियाको रोजगारी कुनै हालतमा पनि गुम्न नदिने प्रतिबद्धता जनाएका छन् ।

श्रममन्त्री श्रेष्ठकाअनुसार अन्य देशको तुलनामा सुरक्षा र तलबको हिसाबले आकर्षक रहेको छ । कोभिडले गर्दा पनि हजारौं नेपाली अड्किएका छन् । आगामी दिनमा दक्षिण कोरिया जाने तयारीमा रहेको नेपालीहरूलाई सहज ढङ्गबाट जान पाउने व्यवस्था गर्नेछौं ।

नेपालमा कोभिडका कारण १० हजार मानिस अड्किएका छन् । जसमा ७ हजार परीक्षा दिई बसेका र ३ हजार कोरियाबाट नेपाल आई फर्कन नपाएका श्रमिक छन् । उक्त ३ हजार अड्किएका श्रमिकलाई पुनः कोरिया जानको लागि सरकारले प्रक्रिया पूरा गरिसकेको छ । साथै, आगामी कात्तिक १० गते ५० जना कामदार कोरिया जाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

Publish on: