
काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड बिस्तारका लागि रूख काट्न शुरु गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन बिस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको आयोजनाले जानकारी दिएको छ ।
पहिलो चरणको सडक बिस्तार शुरु गर्नका लागि तनहुँ खण्डमा ६ हजार ७ सय ५० रूख काट्नुपर्ने आयोजनाले बताएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको छ । काफ्लेका अनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ ।
यसै आयोजना अन्र्तगत कास्की खण्डमा पनि १ हजार २ सय ५० रूख काट्नु पर्ने छ । यसका लागि विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको काफ्लले क्लिकमाण्डूलाई बताए ।
सडक विस्तारका लागि निर्माण कम्पनीले साइड क्लियर नभएसम्म काम शुरु नगर्ने भनेको थियो । कम्पनीले चीनबाट निर्माण आवश्यक पर्ने सम्पूर्ण उपकरण ल्याइसकेको बताएको छ । साइट क्लियर भएमा काम छिट्टै शुरु हुने चिनियाँ पक्षको भनाइ छ ।
यो सडक खण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको ८ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको आयोजनाले बताएको छ ।
उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो ।
हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम शुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम शुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना आँबुखैरेनी–जामुने पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।
६ अर्ब २१ करोड रुपैयाँको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको थियो ।
जामुने–पोखरा पश्चिम खण्डमा के हुँदै छ ?
मुग्लिन–पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका आयोजनाले जानकारी दिएको छ ।
भदौ १३ गते यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए ।
‘भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको हो,’ खत्रीले भने, ‘निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन् ।’
नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेको पनि खत्रीले बताए । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरिक्षण, बीमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका खत्रीको भनाइ छ ।
७ अर्ब ४० करोड रुपैयाँको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।
चार लेन बाटोमा हुनुपर्ने मापदण्ड
चार लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।
साथै दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले बताएको छ ।
३१ वटा नयाँ मोटरेबल पुल निर्माण
यो सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल आवश्यकता रहेको जामुने–पोखरा आयोजनाले बताएको छ । त्यसका लागि ३१ वटा मोटरेबल पुल निर्माण गरिने जामुने–पोखरा आयोजना प्रमुख खत्रीको भनाइ छ ।
आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ वटा नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने हुन्छ । ३१ वटा पुलमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको अधिकारीहरुले बताए ।
बाँकी २९ वटा पुल दुई प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुने भएको छ ।
आँबुखैरेनीदेखि मुग्लिन खण्डको रेखांकन परिवर्तन
आँबुखैरेनीदेखि मुग्लिन खण्डमा रहेको ८ किलोमिटर दूरीको भने डिजाइनमा रेखाङ्कन परिवर्तन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह छ ।
जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको आयोजनाले बताएको छ ।
रेखाङ्कनको काम सकिए पछि अरु काम छिट्टै शुरु गरिने आयोजनाले बताएको छ । यसका लागि जलविद्युत् गृहसंग कुरा गरेर सडक विस्तारको कामले गृहलाई बाँधा नपर्ने खाल्को रेखाङ्कन तयार पारिने आयोजनाका प्रमुख सुवेदीले बताए ।
SHARE YOUR THOUGHTS