![](https://internal.appharu.com/wp-content/uploads/2019/10/ram-kumari-jhakri-clickmandu.jpg)
काठमाडौं । सरकारले उपभोक्ता समिति मार्फत गरिने निर्माण सम्वन्धि सम्पूर्ण खरिद कार्यहरु तत्कालका लागि रोक्का गरिएको छ ।
सहरी विकासमन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट उपभोक्ता समितिबाट हुने निर्माण सम्बन्धि खर्च रोक लगाउने निर्णय गरेको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समिति मार्फत हुने खर्चलाई रोक लगाएकी हुन् ।
सार्वजनिक खरिद ऐन, २०६३ मा सार्वजनिक निर्माणका लागि विभिन्न खरिदका विधिहरु अपनाउन सकिने भन्दै नेपाल सरकारको शहरी विकास मन्त्रालयको २०७८/०७/१४ मा बसेको मन्त्रिस्तरीय बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।
उपभोक्ता समितिबाट कार्य गराउँदा कार्यमा एकरुपता नभएको, निर्माण कार्यमा प्रतिस्पर्धा नभएको, गुणस्तर कायम गर्न कठिन भएको र ऐन, नियममा भएको व्यवस्था पालना नभएको भनि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुमा उल्लेख गरिएको छ ।
मन्त्रालयबाट गरिएको अनुगमनका क्रममा समेत सोही समस्या देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
उपभोक्ता समितिबाट गराइने निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाई कार्यन्वयन गर्न उपयुक्त हुने देखिएकाले अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/253575852_264040539008407_381433929430207639_n-768x688.jpg)
SHARE YOUR THOUGHTS