![](https://internal.appharu.com/wp-content/uploads/2020/12/EPS-Korea.png)
काठमाडौं । आगामी मंसिर ८ गते दोस्रो चरणमा ८३ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएको छ । इपीएस कोरिया शाखाले कोभिडका कारण रोकिएका श्रमिकलाई विभिन्न चरणमा कोरिया पठाउने भएको हो ।
यसअघि शाखाले ४८ जना श्रमिकलाई गत कार्तिक १० गते कोरिया पठाएका थिए । त्यस्तै, आगामी मंसिर ८ गते ८३ जना श्रमिकलाई लैजाने भएको हो ।
शाखाले सार्वजनिक गरेको नाम भएका व्यक्तिहरूले आवश्यक कागजातहरू मंसिर ६ गतेसम्ममा कार्यालयमा पेश गरिसक्नु पर्ने जनाएको छ ।
‘संलग्न नामावली सूचिमा भएका व्यक्तिहरुले उडान पुर्व गर्नु पर्ने आवश्यक तयारी गरी तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । साथै, तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको निर्धारित उडान तालिका प्रभावित हुन सक्नेछ,’ जारी सूचनामा उल्लेख छ ।
शाखाकाअनुसार रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत माछापुच्छ्रे बैंकमा इपिएस कार्यालयको खाता नम्बर २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर र एभरेष्ट बैक ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता नम्बर ००१०११०२२००००६ मा २५ सय रुपैयाँ जम्मा गरेको बैंक भौचर पेश गर्नुपर्नेछ ।
त्यस्तै, वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कंम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको बीमालेखको प्रतिलिपि शाखामा पेश गर्नुपर्नेछ ।
यस शाखामा सूचिकृत बीमा कम्पनीमध्ये कुनै एकबाट कोभिड जोखिम बीमा गरेको बीमालेखको प्रतिलिपि र गणतन्त्र कोरिया पुगेपछि १० दिन आफ्नो खर्चमा क्वारेन्टाईन बस्नु पर्ने भएकोले क्वारेन्टाईन खर्च वापत तोकिएको रकम यूएस डलर अनिवार्य रुपमा व्यवस्थापन गर्नु पर्ने शाखाले उल्लेख गरेको छ ।
SHARE YOUR THOUGHTS