चलाइरहेको सेवा मन नपरे त्यही मोबाइल नम्बरमा अर्को कम्पनीको सेवा लिन सकिने, यस्ता छन् शर्त

चलाइरहेको सेवा मन नपरे त्यही मोबाइल नम्बरमा अर्को कम्पनीको सेवा लिन सकिने, यस्ता छन् शर्त


काठमाडौं । यदि तपाईंलाई चलाइरहेको मोबाइल सेवाप्रदायक मन परिरहेको छैन भने चिन्ता नगर्नुस्, चलाइरहेको नम्बर परिवर्तन नगरिकन अर्को कम्पनीको सेवा लिन सकिने भएको छ ।

यसको अर्थ, मानौ तपाईंले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनु भएको छ तर तपाईंलाई मन परेन भने मोबाइल परिवर्तन नगरी एनसेल वा अन्य सेवाप्रदायक परिवर्तन गर्न सकिने भएको छ ।

यसरी सेवा परिवर्तन गर्दा तपाईंले चलाइरहेको नम्बर भने परिवर्तन गर्नुपर्ने छैन ।

यो सेवा सञ्चालनका लागि भनेर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदा तयार गरेको छ ।

यो सेवा लिनका लागि भने ग्राहकले केही शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

जस्तै, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने उक्त सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रियतापूर्वक चलाएको भने हुनुपर्छ ।

त्यस्तै, सेवा सञ्चालन गरिरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको हुनुहुँदैन । सेवाप्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक नलगाएको हुनुपर्छ ।

अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्नेछ ।

यी सबै शर्त पूरा भएको ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनु पर्नेछ ।

यस नियमावलीअनुसार सबै दूरसञ्चार सेवा प्रदायकले कुनै भेदभाव नगरी प्राधिकरणले तोकेको समयभित्र उक्त सेवा दिनुपर्ने छ ।

साथै, पोर्टिङ प्रक्रियाका लागि जुन सेवा प्रदायकको सेवा दिन चाहेको सोही सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्नेछ ।

प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको पोर्टिङको निवेदनलाई मात्र पोर्टिङको प्रक्रियामा लैजानेछ ।

प्रत्येक दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई कुनै शुल्क बिना र उनीहरुको खातामा शून्य ब्यालेन्स भएको अवस्थामा पनि नम्बर परिवर्तनको लागि एसएमएस पठाउन सक्ने सुविधा उपलब्ध गराउनुपर्ने छ ।

यस्तो छ प्राधिकरणले तयार गरेको नियमावलीको मस्यौदा