काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरका सिमेन्ट उत्पादन गर्ने उद्योगसहित ५ कम्पनीलाई कारबाही गरेको छ ।
विभागले बजार अनुगमनके क्रममा संकलित गुणस्तर प्रमाण चिह्न प्राप्त वस्तुको नमूना विभागको प्रयोगशालामा परीक्षण गर्दा तोकेको गुणस्तर बमोजिम नपाइएकाले कारबाही गरेको हो ।
विभागले मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट र जगदम्बा सिमेन्ट उद्योगसहित धनुषाको जानकी केवल प्रालि र बारामा रहेको श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो ।
मारुती सिमेन्ट उद्योगले गुणस्तर ५७२ बमोजिम नरहेको भन्दै विभागले ओपिसी ४३ ग्रेडको विक्री वितरण रोकेको छ ।
त्यस्तै, विभागले युनाइटेड सिमेन्ट उद्योगको ओपिसी ५३ ग्रेडको विक्री वितरण रोक्न भनेको छ ।
जगदम्बा सिमेन्ट उद्योगलाई भने पिपिसी सिमेन्टको विक्री वितरण रोक्न पत्राचार गरेको छ । साथै, उक्त ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्रै स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।
जानकी केवल ई प्रालिलाई विभागले सम्पूर्ण डायमिटर, स्ट्राड डायमिटर र कन्डक्टर रेसिस्टेन्स साइजको पीभिसी केबल विक्री वितरण रोक्न निर्देशन दिएको छ । साथै, उक्त ब्याचको सम्पूर्ण केवल फिर्ता लिन र १५ स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।
श्री ग्यास वान नेपाललाई विभागले सेफ्टी नलगाएको, वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको सिभीटी मेसिन नभएको एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भ मर्मत कार्य कार्ब भएको, स्प्रिङ्कल सिस्टम चालु अवस्थामा नरहेको र प्रेसर गेजको क्यालिव्रेशन नभएको भन्दै कारबाहीको दायरमा ल्याएको छ ।
उक्त कम्पनीलाई विभागले कैफियत पूरा नभएसम्म एलपीजी बोटलिङको कार्य बन्द गर्न र १५ दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।
SHARE YOUR THOUGHTS