
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत सेयर कर्जामा ४/१२ को नीतिलाई पुनरावलोकन गर्ने अपेक्षा धेरैको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले समेत यो नीतिलाई परिवर्तन गर्नको लागि सुझाव दिएका थिए ।
सेयर बजारका ठूला लगानीकर्ताहरुले ४/१२ को नीति परिवर्तन गर्न माग गरेका थिए ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोडमात्र ऋण पाउने र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अध्ययन र अनुसन्धान तथा विश्लेषणबाट ल्याएको हुनाले निर्देशन परिवर्तन नभएको बताए ।
’राष्ट्र बैंकले लामो अध्ययन र विश्लेषणबाट निर्देशन जारी गरेको हुन्छ, त्यसलाई पुनरावलोकन गर्नु पर्ने अवस्था नभएसम्म त्यो हुँदैन। कर्जा बिस्तारलाई ब्यवस्थित गर्नका लागि अहिलेको नीति ठिक छ,’ मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ढकालले भने ।
SHARE YOUR THOUGHTS