आउँदो वर्षबाट नेपालको खेर गइरहेको बिजुली खरिद गर्न बंगलादेश सहमत « Eglish Khabarhub

आउँदो वर्षबाट नेपालको खेर गइरहेको बिजुली खरिद गर्न बंगलादेश सहमत



ढाका । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने छ।

नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए ।

‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने ुत्यो विद्युत हामी खरिद गर्न सक्छौँ।

नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताउनुभयो। राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए ।

जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने ।

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमती लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता पिपिए० गराउने गृहकार्य सुरु गर्ने पनि बताए ।

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ। यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ। नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ।

बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ।

नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे ।

नेपालका निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे ।

Publish on: