
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्नको लागि पुनः अर्को सूचना निकालेको छ । अर्थ मन्त्रालयले यसअघि निकालेको सूचनालाई रद्द गर्दै नयाँ सूचना निकालेको हो ।
बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १५ दिने सूचना निकालेको छ । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । योग्य आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन भनेको छ ।
आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।
बोर्डमा अध्यक्ष नियुक्तीको लागि भन्दै मन्त्रालयले यसअघि पनि आवेदन माग गरेको थियो । त्यो बेला १२ जनाले आवेदन दिएका थिए । अब त्यो आवेदन रद्ध हुन्छ वा कायमै रहन्छ त्यो भने खुलाइएका छैन ।

SHARE YOUR THOUGHTS