१ खर्बको निर्यात हुँदा स्थानीय उत्पादित वस्तुको अवस्था झन कमजोर हुँदै « Eglish Khabarhub

१ खर्बको निर्यात हुँदा स्थानीय उत्पादित वस्तुको अवस्था झन कमजोर हुँदै



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले १ खर्ब मूल्य बराबरको निर्यात गरेको छ । विगत लामो सयमदेखि निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य गत वर्ष पूरा भएको थियो ।

गत वर्ष १ खर्ब ४१ अर्बको निर्यात गरी हालसम्मकै नयाँ रेकर्ड कायम गरेको थियो । तर, पनि व्यवसायीहरू भने सन्तुष्टि हुन सकेका छैनन् ।

त्यस्तै, चालु आवको ५ महिनाको अवधिमा मात्रै नेपालले १ खर्ब बढीको निर्यात गर्न सफल भएको छ । जुन निकै सकारात्मक पक्ष हो । तर, निर्यातित वस्तुको परिमाण हेर्ने हो भने आन्तरिक उत्पादित वस्तुको निर्यात अवस्था भने कमजोर रहेको देखिन्छ ।

तथ्याङ्क हेर्दा ५ महिनाको अवधिमा निर्यातित मूल्यको करिब ६० प्रतिशतभन्दा बढी हिस्सा तेलको मात्रै भटमास, पाम र सनफ्लावर तेलको रहेको छ । तेलका लागि आवश्यक कच्चा पदार्थ नेपालमा पर्याप्त मात्रामा उत्पादन हुँदैन ।

उक्त कच्चा पदार्थ विदेशबाट आयात गरेर प्रशोधन गरी निर्यात गर्दै आएका छन् । सो वस्तुको मात्रै हिस्सा ६० अर्ब २७ करोड रुपैयाँ निर्यात मूल्य रहेकाले अन्य वस्तुको निर्यात निकै कमजोर रहेको स्पष्ट देखाउँदछ ।

आर्थिक वर्ष २०७८/७९ को ५ महिनाको अवधिमा नेपालले गत वर्षको तुलनामा ६३.६ प्रतिशत बढीले वैदेशिक व्यापार गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका तथ्याङ्कअनुसार ५ महिनाको अवधिमा ९ खर्ब ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

चालु आर्थिक वर्षको शुरुवातीदेखि नै उच्च आयात र निर्यात भइरहेको छ । उच्च रुपमा आयात निर्यात हुँदा नेपालमा तरलताको अभाव भएको भन्दै राष्ट्र बैंकले आयातमा विभिन्न क्षेत्रलाई कडाइसमेत गरेको छ ।

मासिकरुपमा १ खर्ब आयात हुँदै आएकोमा निर्यात पनि २० अर्बको हाराहारीमा निर्यात हुँदै आएको तथ्याङ्कले देखाउँदछ । जसले गर्दा ५ महिनामै १ खर्बको निर्यात गर्न सफल भएको छ ।

व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.९ प्रतिशत र ८९.१ प्रतिशत रहेको छ । विगतको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक व्यापारले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपालले चालु आवको ५ महिनाको अवधिमा ८ खर्ब ३८ अर्ब ४१ को आयात गर्दा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा १०५.६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालले ५ महिनाको अवधिमा ३७ अर्ब ५० करोड १५ लाख रुपैयाँको निर्यात गरेको थियो । त्यस्तै आव २०७६/७७ मा नेपालले ४७ अर्ब ६१ करोड ६८ लाखको, आव २०७७/७८ मा ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँको निर्यात गरेको थियो ।

विगतको दिनमा वार्षिक १ खर्ब निर्यात मूल्य नपुग्ने अवस्थामा यो वर्ष भने ५ महिनामै १ खर्ब मूल्य बढीकोको निर्यात हुँदा मुख्य वस्तु निर्यात गर्दै आएका व्यवसायीहरू भने खुसी हुने कुनै आधार नभएको बताउँछन् ।

अहिले नेपालबाट प्रमुख निर्यात हुँदै आएको वस्तुको परिमाण भने झन कमजोर हुँदै गएको उनीहरूको भनाइ छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, सूर्यमुखी तेल, ऊनी फेल्टका उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना शल, चाऊचाऊ, फलाम तथा फलामका उत्पादनहरु प्रमुख रुपमा रहेका छन् ।

नेपालबाट उत्पादित वस्तुमध्ये सबैभन्दा बढी अलैंची, चिया, कार्पेट, पस्मिना, हस्तकलालगायत अन्य वस्तु निर्यात गर्दै आएका छन् । तर, उक्त वस्तुको निर्यातित परिमाण हेर्ने हो भने निकै कमजोर रहेको निर्यात व्यवसायीहरूको भनाइ छ ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले तेलको हिस्सा ठूलो भएकाले आन्तरिक रुपमा उत्पादन भई निर्यात हुने वस्तुको अवस्था झन खस्किँदै गएको बताए ।

उनकाअनुसार विगतको दिनमा उल्लेख्य रुपमा गलैंचा, चिया, अलैंची, पस्मिना, हस्तकला निर्यात हुँदै आएको थियो । उक्त वस्तुहरूमा कच्चा पदार्थलगायत मूल्य वृद्धिका कारण निर्यात मूल्य बढी देखिए पनि परिमाणको हिसाबले निकै कमजोर देखिएको छ । साथै, निर्यात मूख्य १ अर्ब पुग्यो भनेर खुसी हुनुपर्ने अवस्थामा भने नरहेको उनको भनाइ छ ।

त्यस्तै, हस्तकला महासंघले पनि कोभिडका कारण उत्पादनलगायत विभिन्न समस्याले गर्दा हस्तकला क्षेत्रबाट अपेक्षा रुपमा निर्यात गर्न नसकेको जनाएको छ । महासंघले वार्षिक रुपमा १२ अर्ब रुपैयाँको निर्यात गर्दै आएको अहिले ६ अर्बमा सिमित भएको महासंघले बताउँदै आएका छन् ।

पछिल्लो समय निर्यात मूल्यमा निकै देखिए पनि वास्तवमा परिमाण भने निकै कम रहेको महासंघको ठम्याइ छ । महासंघले आव २०७५/७६ को ५ महिनाको अवधिमा २८ करोड ८१ लाख रुपैयाँको निर्यात गरेको थियो ।

आव २०७६/७७ को सोही अवधिमा नेपालले ३८ अर्ब ७९ करोड रुपैयाँ निर्यात गरेको थियो । चालु आवको ५ महिनाको अवधिमा सो वस्तु २२ करोड ८६ लाखको मात्रै निर्यात भएको छ । साथै, परिमाणको अवस्था हेर्ने हो भने निकै कमजोर रहेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् ।

नेपालबाट सबैभन्दा बढी चिया निर्यात हुँदै आएको छ । आव २०७५/७६ मा ५ महिनाको अवधिमा नेपालले ९८ लाख ६१ हजार केजी चिया निर्यात गरेको थियो । साथै, आव २०७६/७७ मा घटेर ५७ लाख ६६ हजार केजी, आव २०७७/७८ मा ७९ लाख ९० हजार केजी निर्यात गरेको थियो । तर, चालु आवको उक्त अवधिमा नेपालले ५३ लाख १६ हजार केजी मात्रै निर्यात गर्न सफल भएको छ ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने अर्को उत्पादित वस्तु हो अलैंची । गत वर्षको ५ महिनाको अवधिमा नेपालले ३८ लाख ५६ केजी अलैंची निर्यात गरेकोमा चालु आवको सोही अवधिमा २३ लाख १९ हजार केजी मात्रै निर्यात गर्न सफल भएको छ ।

मेडिकल हर्ब गत वर्ष ५ महिनाको अवधिमा २० लाख १२ हजार केजीको हाराहारीमा निर्यात हुँदा चालु आवको सोही अवधिमा १९ लाख २८ हजार केजीमा सीमित भएको छ ।

उत्पादित वस्तु अदुवाको निर्यात परिमाण झन्झन् कम हुँदै गएको देखिन्छ । आव २०७५/७६ मा ७० लाख २४ केजी, आव २०७६/७७ मा ५५ लाख केजी, आव २०७७र७८ मा ४६ लाख २५ हजार केजी र चालु आवको सोही अवधिमा ४४ लाख ४३ हजार केजीमा सिमित भएको छ ।

कार्पेटमा पनि विगतको तुलनामा निकै कम निर्यात हुन थालेको तथ्याङ्कले उल्लेख गरेको छ । आव २०७५/७६ मा १ लाख ८१ हजार १०६ स्क्यारमिटर कार्पेट निर्यात गरेको थियो भने आव २०७६/७७ मा १ लाख ७२ हजार १६१ स्क्वारमिटर कार्पेट निर्यात गरेको थियो ।

त्यस्तै, गत वर्ष २ लाख ३४ हजार स्वायर मिटर कार्पेट निर्यात हुँदा चालु आवमा १ लाख ८२ हजार स्क्यारमिटर मात्रै कार्पेट निर्यात गरेको छ । तर, निर्यात परिमाण घटेपनि मूल्यवृद्धिले गर्दा निर्यात मूल्य भने बढी रहेको छ ।

त्यस्तै, रेडिमेड गार्मेन्टको निर्यात परिमाणमा कमजोर देखिएको छ । विगतको दिनमा ६२ लाख ६७ हजार पिससम्म गार्मेट निर्यात गर्दै आएकोमा चालु आवको ५ महिनाको अवधिमा ५२ लाख पिसमा सीमित भएको छ ।

५ महिनाको अवधिमा नेपालले ६२ लाख पिससम्म गार्मेट निर्यात गर्दा करिब ३ अर्ब पुग्दैनथ्यो भने अहिले ५२ लाखको हाराहारीमा निर्यात गर्दा ३ अर्ब ३० लाखको निर्यात मूल्य पुगेको छ ।

छालाको निर्यातमा पनि उल्लेख्य घटेको छ । आव २०७५/७६ मा ३९ लाख २६ केजी छाला निर्यात गर्दै आएकोमा चालु आवमा १५ लाख ५१ हजार केजीमा सिमित भएको छ । निर्यातको अवस्था निकै कमजोर हुँदै गएको छ ।

साथै, टेक्सटायल, फेल्ट, पस्मिनालगायत अन्य मुख्य वस्तुको निर्यात परिमाण कम हुँदै गएको तथ्याङ्कले देखाउँदछ ।

Publish on: