काठमाडौं । इमर्जिङ नेपाल कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले मध्यम स्तरको जोखिम भएको संकेत गर्छ ।
कम्पनीका संस्थापक लगानीकर्ता, कम्पनीले गरेको लगानी, त्यसबाट आउने प्रतिफल, अहिलेकै वित्तीय अवस्था हेर्दा पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने सम्भावना देखिएको छ ।
कम्पनीमा सरकारी लगानीका साथै अर्बपति व्यवसायीहरुको समेत लगानी छ । जसमा मुख्य लगानीकर्तामा सरकारसहित ४४ संस्थापक ठूला लगानीकर्ता छन् ।
कम्पनीमा अर्थमन्त्रालयको २५ हजार २ कित्ता सेयर स्वामित्व रहेको छ । यो कम्पनीको सञ्चालमा आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल रहेका छन् ।
इमर्जिङ नेपालमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको सबैभन्दा बढी लगानी रहेको छ । उनको ७ लाख ५० हजार ६० कित्ता रहेको छ ।
यस्तै विशाल ग्रुपसँग ३ लाख ६२ हजार ५५० कित्ता, अशोक कुमार अग्रवालको १ लाख ८८ हजार १०४ कित्ता, जीवनाथ लामिछानेको नाममा २ लाख ५० हजार २० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै शुभाष चन्द्र संघाईको ६ लाख २५ हजार ५० कित्ता, ज्ञानेन्द्र प्रसाद ढुंगानाको २५ हजार २ कित्ता, पशुपति मुरारकाको २७ हजार ७८० कित्ता उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको ६२ हजार ५०५ कित्ता, सौरभ ज्योतिको ११ हजार ११२ कित्ता, सन्दीप कुमार अग्रवालको १ लाख ११ हजार १२० कित्ता सेयर छ ।
साथै, सिताराम थपलियाको ८ हजार ८९०, शशिकान्त अग्रवालको १ लाख २५ हजार १० कित्ता, अम्बिका पौडेलको २७ हजार ७८० कित्ता, विशाल अग्रवालको १ लाख ६७ हजार २३५ कित्ता छ ।
आम्दानीको स्रोत के ?
इमर्जिङ नेपालले लगानी गरेका विभिन्न कम्पनीले लगानीको प्रतिफल दिने गरेका छन् ।
अहिले कम्पनीको आम्दानीको स्रोतमा होटल एलिस द वोदर इनबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत तथा आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
यस्तै केयर रेटिङ नेपालमा पनि छ । उक्त कम्पनीबाट त्यहाँबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत र आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट कम्तीमा बार्षिक ८ प्रतिशतका दरले लाभांश पाउने अपेक्षा रहेको छ । यस्तै बिएफआईएनबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत तथा आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने अपेक्षा रहेको छ । एजुशेकन, हस्पिटालिटी, हेल्थकेयर, स्टार्टअप फण्ड मा १४ प्रतिशत लगानी गर्ने रणनीति रहेको छ ।
प्रतिफल कति ?
५ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले आव २०७८/७९ मा ३ करोड ७५ लाख ८८ हजार ०८१ रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । यस्तै आगामी आव २०७९/८० मा ३ करोड ८९ लाख १० हजार ८४९ रुपैयाँ र आव २०८०/८१ मा ४ करोड ५३ लाख ५१ हजार २०३ रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।
यस्तै सञ्चालन आम्दानी आव २०७८/७९ मा ३ करोड ४२ लाख ३७ हजार २७३ रुपैयाँ रहने र आव २०७९/८० मा ४ करोड १२ लाख २ हजार ६७० रुपैयाँ तथा आव २०८०/८१ मा ४ करोड ९६ लाख ३ हजार २०४ रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।
त्यस्तै ब्याज आम्दानी पनि आव २०७८/७९ मा १ करोड ८२ लाख रुपैयाँ रहने र आव ०७९/८० मा १ करोड २६ लाख रुपैयाँ तथा आव २०८०/८१ मा १ करोड ३० लाख ५० हजार रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।
आव २०७८/७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा, आव ०७९/८० मा ७ रुपैयाँ तथा आव २०८०/८१ मा ८ रुपैयाँ १६ पैसा हुने प्रक्षेपण रहेको छ भने प्रतिसेयर नेटवर्थतर्फ आव २०७८/७९ मा १०६ रुपैयाँ ३७ पैसा, आव ०७९/८० मा १०६ रुपैयाँ ३७ पैसा र आव २०८०/८१ मा १०७ रुपैयाँ ५३ पैसा हुने प्रक्षेपण रहेको छ ।
कति आउँदैछ आइपीओ ?
कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँको दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गर्न लागेको छ । जसमा कर्मचारीको लागि ११ हजार ११२ कित्ता र सामूहिक लगानी कोषको लागि २७ हजार ७८० कित्ता छुट्याएको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यो कम्पनीको सप्लाई निकै थोरै रहेको छ । कम्पनीले सर्वसाधारणको लागि ५ लाख १६ हजार ७०८ कित्ता मात्रै निष्काशन गर्ने हो । यसको अर्थ अहिलेको अवस्थामा बजारमा करिब १ लाख कित्ता कारोबारमा नियमित कारोबार हुने जानकारहरु बताउँछन् । सप्लाई कम हुँदा डिमान्ड बढी हुने अनुमान जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया