बीमा समितिद्वारा दुई वटा कृषि बीमालेख जारी, दुर्घटनामा परी किसानको मृत्यु भए २ लाख पाउने « Eglish Khabarhub

बीमा समितिद्वारा दुई वटा कृषि बीमालेख जारी, दुर्घटनामा परी किसानको मृत्यु भए २ लाख पाउने



काठमाडौं । बीमा समितिले दुई वटा बीमालेख जारी गरेको छ । समितिले कृषि तथा बाली बीमाअन्र्तगत ड्रागन फल र किवी खेती बीमालेख जारी गरेको हो ।

किवी खेती र ड्रागन फल खेतीमा हुनसक्ने सम्भावित क्षति वा जोखिमको रक्षावरण गर्न समितिले उक्त बीमालेखहरु जारी गरेको हो ।

ड्रागन फल र किवी खेतीको बीमालेख जारी गर्न माग भएसँगै समितिले लागत र उत्पादनमा आधारित बीमालेख ल्याएको हो ।

समितिकाअनुसार किवी खेती र ड्रागन फल खेतीको बीमा गर्ने किसानको जोखिमको समेत रक्षावरण हुनेछ । बीमा अवधिभित्र यी दुई खेती गर्ने किसानको दुर्घटनाबाट मुत्यु भएमा किसानले २ लाख रुपैयाँ बीमा कम्पनीबाट पाउनेछन् ।

तर, त्यस्तो सुविधा पाउनका लागि भने प्रत्येक किसानले दुर्घटना बीमा वापत पाँच सय रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने छ ।

आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा कम्पनीले सो रकम भुक्तानी गर्ने बीमालेखमा उल्लेख छ ।

स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिडको हड्डी काम नलाक्ष्ने भएमा, एउटा हातको नाडी देखि माथि पूरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा कम्पनीले सो रकम भुक्तानी गर्ने छ ।

समितिका अनुसार यी दुवै बीमालेखको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने छ ।

बीमा समितिले जारी गरेको किवी र डाग«न फल खेती बीमालेख अनुसार ८ प्रकारको क्षतिको रक्षावरण गर्नेछ ।

बीमालेखले हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य, भूमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति, रोग वा किराजन्य क्षतिबाट हुने क्षतिको रक्षावरण गर्ने छ ।

यस्तै, अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने, अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने, विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम बहन नगर्ने जनाएको छ ।

यस्तै, बीमामा युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षतिको जोखिम बहन नहुने समितिद्वारा बीमालेखमा उल्लेख छ

Publish on: