काठमाडौं । नयाँ वर्ष सुरु भएपछिको तेस्रो कारोबारमा बजार फर्किएको छ ।
मंगलबार कारोबारको सुरुमा केही गिरावट देखिएपनि करिब १ घन्टापछि बजारमा सुधार देखिएको थियो । इन्ट्रा डे कारोबारमा बजारमा केही उतार चढाव देखिएको छ । उतार चढाबकाबीच अन्तिम समयमा बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक १३.३७ अंकले बढेर परिसूचक २३५७.२४ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा सुधार आउँदा पनि कारोबार रकम भने बढ्न सकेको छैन । बजारसँगै कारोबार रकम पनि बढ्ने हो भने लगानीकर्ताको मनोबल बढ्ने जानकार लगानीकर्ताको तर्क छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ६.०३, विकास बैंक ३२.८९, जलविद्युत ११.२४, निर्जीबन बीमा ६२.४४, उत्पादन तथा प्रशोधन समूहको २४.६२, माइक्रोफाइनान्स ३३.१९, जीवन बीमा समूहको उपसूचक ९७.६६ अंकले बढेको छ ।
कारोबारमा नेष्डो लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँको सेयर किनबेच भएको छ ।
SHARE YOUR THOUGHTS