हिमालयनले अर्को बैंकसँग मर्जरका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्यो, सिभिल हो कि सेञ्चुरी वा बिओके ? « Eglish Khabarhub

हिमालयनले अर्को बैंकसँग मर्जरका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्यो, सिभिल हो कि सेञ्चुरी वा बिओके ?


१८ बैशाख २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयन बैंकले चालु आर्थिक वर्षभित्रमा मर्जरको नयाँ सम्झौता गर्ने भएको छ । त्यसका लागि अर्को एक वाणिज्य बैंकसँग मर्जरको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरिसकेको छ ।

‘हामीले एक वाणिज्य बैंकसँग मर्जरका लागि नन डिस्क्लोजर एग्रिमेन्ट गरिसकेका छौं,’ हिमालयन बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘दुईदेखि तीन साताभित्र मर्जरको सैद्दान्तिक समझदारीमा औपचारिकरुपमा नै हस्ताक्षर हुन्छ ।’

ती सञ्चालकले कुन बैंकसँग नन डिस्क्लोजर एग्रिमेन्ट गरेको भन्नेबारे भने खुलाएनन् । तर, स्रोतका अनुसार हिमालयनसँग यस्तो सम्झौता गर्ने पहिलो नम्बरमा सिभिल बैंक हुनसक्छ । सिभिल नभएको खण्डमा बैंक अफ काठमाण्डू वा सेञ्चुरी हुनसक्छ ।

‘हिमालयनसँग नन डिस्क्लोजर एग्रिमेन्ट गर्ने बैंक संभवत सिभिल नै हो,’ स्रोतले भन्यो, ‘सिभिल नभएको अवस्थामा मात्रै बैंक अफ काठमाण्डू र सेञ्चुरी हुन सक्छन्, त्यसबाहेक अरु बैंकसँगको संभावना अत्यन्तै न्यून छ ।’

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेकोमा कारवाही गर्दै सेयरधनीलाई लाभांश वितरणमा रोक लगाएको छ । त्यस्तै, हिमालयनले अर्को वाणिज्य बैंकसँग मर्जर प्रक्रिया पूरा नगर्दासम्म दोस्रो बजारमा सेयर कारोबार समेत खुल्ने छैन । यसबाहेक बैंकले थप शाखा खोल्न पाउने छैन भने सञ्चालकलाई समेत राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले दिएको निर्देशन पूरा गर्ने गरेर काम गर्ने बताउँछन् ।

‘राष्ट्र बैंकले दिएको निर्देशनअनुसार हामीले अर्को बैंकसँग मर्जर गर्नुपर्ने बाध्यता छ, यसलाई हामीले यो आर्थिक वर्षभित्रै पूरा गर्ने छौं,’ सीइओ राणाले क्लिकमाण्डूसँग भने, ‘त्यसका लागि हामीले काम शुरु गरिसकेका छौं । एक महिनाभित्र तपाईंहरुले पनि थाहा पाउनुहुन्छ ।’

गत पुस अन्तिममा हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग स्वाप अनुपात नमिलेको भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो । हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ कर्मचारी सञ्चय कोषसँग मिलेपछि इन्भेष्टमेन्टसँगको मर्जर भाँडिएको थियो ।

टार्गेटमा ३ बैंक

हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जर भाँडेपछि आफूसँग मर्जर गराउने उद्देश्यले ३ वटा वाणिज्य बैंकसँग कुरा गरेको छ । बैंकमा रहेका विभिन्न लगानीकर्ताको समूहले सिभिल, बैंक अफ काठमाण्डू तथा सेञ्चुरी बैंकसँग कुरा गरेका छन् ।

सिभिलमा हिमालयन बैंकका संस्थापक लगानीकर्ता राणा समूह तथा कर्मचारी सञ्चय कोषको लगानी छ । यस्तै बिओकेमा पनि सञ्चय कोषको लगानी छ । सेञ्चुरी बैंकमा भने बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठबीच निकट सम्बन्ध रहेको हुँदा मर्जरको कुरा अगाडि बढेको स्रोतको दाबी छ ।

सिभिल पहिलो रोजाई

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग नै मर्जरको सम्झौता गर्दा सिभिलसँग समेत गर्ने तयारी गरेको थियो । त्यो बेला हिमालयन बैंकका लगानीकर्ताले तीनवटा बैंकबीच मर्जरको सम्झौता गरेर एकैपटक ठूलो बैंक बन्ने प्रस्ताव गरेका थिए । पछि हिमालयन बैंकका लगानीकर्ताको चाहना इन्भेष्टमेन्टसँग मर्जर गरेपछि सिभिल बैंकलाई लिने भन्ने थियो । अझ रमाइलो के छ सिभिल बैंकले हिमालयन बैंकलाई कुनैबेला आफूहरु एक्विजेशनमा जान तयार भएको तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारी सबैलाई अवकास दिने हिसाबले प्रस्ताव गरेको थियो ।

सिभिल बैंकमा संस्थागतरुपमा कर्मचारी सञ्चय कोषको ८ प्रतिशत सेयर स्वामित्व छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ । राणा परिवारको समेत सिभिल बैंकमा केही प्रतिशत सेयर छ । सिभिलसँग मर्जरमा जाने निर्णय गर्दा सञ्चय कोषले यसको बिपक्षमा निर्णय गर्न सक्दैन । सिभिल बैंकमा अब एउटा सञ्चालक पठाउन सक्ने सेयर स्वामित्व कोषसँग रहेको हुँदा नैतिकरुपमा कोष पनि सिभिललाई लिन बाध्य हुन्छ । यसबाहेक हिमालयनका लगानीकर्तालाई सिभिलका संस्थापक अध्यक्ष इच्छाराज तामाङको नाममा रहेको समेत सेयर लिएर स्वामित्व बढाउन सकिने योजना छ ।

सिभिल बैंक उच्च स्रोतले पनि हिमालयनसँग मर्जरका बारेमा घनिभूत छलफल भइरकेको बतायो ।

‘हिमालयन बैंकसँग हामीले मर्जरको घनिभूत छलफल गरिरहेका छौं,’ सिभिल बैंकका एक सञ्चालकले भने, ‘नन डिस्क्लोजर एग्रिमेन्ट नै त भएको छैन । केही कुरा मिलेको छैन । त्यो मिल्यो भने छिट्टै सैद्दान्तिक समझदारी हुन्छ ।’

सिभिल बैंक हेपिएर मर्जरमा नजाने अडानमा छ । पछिल्ला २ वर्षमा उल्लेख्यमात्रामा व्यवसाय गर्न सफल सिभिलले अहिले स्वाप रेसियोमा राम्रो बार्गेनिंग गरिरहेको छ ।

‘अब हामी आफैं पनि सेयरधनीलाई राम्रो प्रतिफल दिने अवस्थामा पुगेका छौं,’ स्रोतले भन्यो, ‘हामीलाई सम्मानजनक स्थान दिने बैंकसँग मर्जरमा जान सक्छौं । तर, हेपिएर र पेलिएर भएपनि मर्जरमा जानुपर्छ भन्ने मान्यतामा हामी छैनौं ।’

राष्ट्र बैंकको कारवाहीले हिमालयनमा चर्को बार्गेनिङ गर्दै अरु बैंक

राष्ट्र बैंकले गरेको कारवाहीले हिमालयन बैंकलाई अर्को वाणिज्य बैंक लिएर मर्ज गर्नुपर्ने बाध्यता छ । यही बाध्यतामा अरु बैंकले सेयर मूल्यमा चर्को बार्गेनिङ गरेका छन् । दिने र लिने कुरा अहिले हिमालयन बैंकलाई लागू भएको छ । हिँजोका दिनमा हिमालयनसँग मर्जरमा जान्छु भन्ने बैंकले पनि अहिले बैंकले सेयर स्वापमा चर्को बार्गेनिङ गरेका छन् । यसको कारण हो हिमालयनलाई जसरी पनि एउटा वाणिज्य बैंक लिएर मर्जर प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता । जबकी, अरु बैंकलाई कारवाहीबाट बच्नका लागि मर्ज गर्नुपर्ने छैन । हिमालयन बैंकलाई परेको त्यही समस्यामा खेलेर अहिले बैंकले सेयर स्वाप अनुपातमा बार्गेनिङ गरेका छन् ।

उदाहरणका लागि सिभिल बैंक नै हेरौं । हिमालयन बैंकले प्राथमिकता राखेको सिभिल २ वर्षअघि जुन मूल्यमा हिमालयनसँग गाभिन तयार थियो । अहिले छैन । बैंकले २ वर्षमा आफ्नो व्यवसायको आधार दोब्बरले बढाएको छ । सामान्य अवस्थामा व्यवसाय गरेमा दोहोरो अंकको प्रतिफल दिन सिभिल सक्षम देखिएको छ । यस्तै अवस्था सेञ्चुरीको पनि छ । ब्राण्ड र प्रतिफलको हिसाबले हिमालयन बैंक बलियो बैंक हो ।

हिमालयनले अहिले राखेको टार्गेट इन्भेष्टमेन्टजस्तो पुरानो तथा आफू सरहको बैंक भने होइन । पछि आएका र प्रतिफल कम भएका बैंक लिएर व्यवसाय अगाडि बढाउने बाध्यात्मक योजना हिमालयनको हो ।

‘बाध्यता थिएन भने हामी मर्जरमा जाने थिएनौं,’ हिमालयन बैंक स्रोतले भन्यो, ‘अहिले हाम्रा सामू मर्जरबाहेक कुनै विकल्प नै छैन ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ७ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping