२ वर्षपछि फेरि कार्यान्वयनमा आयो मार्जिन कारोबार सुविधा, के छन् नयाँ व्यवस्था ? « Eglish Khabarhub

२ वर्षपछि फेरि कार्यान्वयनमा आयो मार्जिन कारोबार सुविधा, के छन् नयाँ व्यवस्था ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याएको छ ।

नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)–२०७७ धितोपत्र बोर्डको निर्देशन पश्चात लागू भएको छ ।

दुई वर्षअघि नै उक्त कार्यविधि लागू भइसकेको थियो । तर लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरुले यो व्यवहारिक भएन भन्दै पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।

मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबारका गर्न ब्रोकरकहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् । यो सुविधा अन्तर्गत बैंकको भन्दा केही महंगो ब्याजदर तोकिएको हुन्छ । यो अल्पकालीन कारोबारका लागि सहज भए पनि दीर्घकालीन कारोबारका लागि भने महंगो हुन जान्छ ।

कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनु पर्नेछ ।

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।

यस्तै मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिक (मेन्टिनेन्स मार्जिन) २० प्रतिशत हुने छ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।

मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नु पर्नेछ ।

वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्नेछ ।

मार्जिन कल गरेको तेस्रो कार्य दिन भित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि नपुरÞ्याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्ने छ ।

मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन १५ प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन बीस (२०) प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरु बिक्री गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन ।

सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन अएमा ७ कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । ७ कार्य दिनमा व्यवसायीले तोकको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्य दिन पश्चात् वा खाता बन्द हुनु भन्दा ५ दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ ।

Publish on: