गभर्नरको बोलीले आत्तिए सेयर लगानीकर्ता, परिसूचक २२ सय बिन्दुमा « Eglish Khabarhub

गभर्नरको बोलीले आत्तिए सेयर लगानीकर्ता, परिसूचक २२ सय बिन्दुमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नीति र बोलीका कारण सेयर बजारका लगानीकर्ताका लागि गलपासो बनेको छ ।

अधिकारीको बोलिकै कारण सेयर बजारमा निरन्तर गिरावट आएको लगानीकर्ताहरुको दाबी छ । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिएको ४/१२ को नीति र उनले निरन्तर दिएको अभिव्यक्तिले ३२ सय पुगेको बजार २२ मा झरेको विश्लेषण लगानीकर्ताको छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल राष्ट्र बैंक र गभर्नर अधिकारी बजारको शत्रु भएका कारण निरन्तर पहिरो गएको दाबी गरिन् ।

‘निरन्तर घटेको बजार क्रमैसँग बढेर ३२०० बिन्दुमा पुगेको थियो,’ अध्यक्ष पोखरेलले भनिन्, ‘गभर्नर अधिकारीले लिएको ४/१२ को नीति र ब्याजदरको विषयमा निरन्तर बोल्दा बजार घटेको हो । उहाँ अहिले बजारको शत्रु जस्तै बन्नु भएको छ । ब्याजदरको विषयमा राष्ट्र बैंकले आवश्यकताभन्दा बढी चासो दिएका कारण त्यसको प्रत्यक्ष असर बजारमा परेको हो ।’

गभर्नर जस्तो मान्छेले लगातार अब ब्याजदर घट्दैन भनेर दिएको अभिव्यक्तिका कारण पनि बजारमा गिरावट आएको उनको तर्क छ ।

गभर्नर अधिकारीले निरन्तर दिएको एकैखाले अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल गिरेको र बजार घटेको विश्लेषण पोखरेलको छ ।

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले लिएको नीति र दिएको अभिव्यक्तिका कारण बजार रातम्मे बनेको तर्क गर्छन ।

गभर्नर अधिकारीले जहाँ जाँदा पनि अब ब्याजदर बढ्छ भनेर दिएको अभिव्यक्तिले पनि बजार भटेको उनको तर्क छ ।

‘मौद्रिक नीतिबाटै ४÷१२ को नीतिले च्यापेको छ, अहिले बजारमा लगानीयोग्य रकमको अभाव छ’ उपाध्यक्ष लम्सालले भने, ‘यस्तो बेला जुन कार्यक्रममा जहाँ जाँदा पनि गभर्नर अधिकारीले ब्याजदर बढ्छ, घट्दैन भनेर दिएको अभिव्यक्तिले लगानीकर्ताको मनोबल घटेको छ । त्यही भएर पनि बजार नबढेको हो ।’

तरलता अभावले पिल्सिएका लगानीकर्ता गभर्नरको भनाइले झनै पीडित बनेको उनको बुझाइ छ ।

बजार बढ्नका लागि ठूला लगानीकर्ता बजारमा आउनुपर्छ । तर अधिकारीको अभिव्यक्तिका कारण ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको बुझाइ साधारणसभा लगानीकर्ताको छ ।

मौद्रिक नीतिबाट ४/१२ ले च्यापेका गभर्नर अधिकारीले अहिले जहाँ गएपनि बिना प्रसङग पनि ब्याजदर बढ्छ भनेर लगानीकर्तालाई त्रसित बनाउँदा डरले बजारमा ठूला लगानीकर्ता आउन नसकेको जानकार लगानीकर्ताको तर्क छ ।

अझै पनि कतिपय लगानीकर्ता सेयर उठाउन खोजिरहेका भएपनि गभर्नर ब्याजदर बढ्छ भनेका कारण नै त्रसित बनेका पोखरेलको दाबी छ । अहिले बजारमा आज बिक्री गरेर पर्सी किन्दा कमाउन सकिन्छ की भन्नेहरु बढी रहेका लगानीकर्ताको भनाइ छ । अहिले जति सेयर बिक्री भएको छ, सबै लगानीकर्ताले नोक्सानी भोग्नु परेको छ ।

राष्ट्र बैंकले लिएको नीति अनुसार अब लगानीकर्ताले एउटा बैंकबाट ४ करोड र समग्र बैंकबाट १२ करोडभन्दा ऋण पाउने छैनन् । त्यसलाई सीमामा ल्याउनुपर्ने बाध्यता लगानीकर्तालाई छ ।

‘अब ऋणको सिमा नवीकरण गर्ने बेला भयो,’ अध्यक्ष पोखरेलले भनिन्, ‘ऋण नवीकरण नगरे बैंकले मान्दैन, ऋण बोकेर तनाब लिनु भन्दा नोक्सानी व्यहोरेरै भएपनि सेयर बिक्री गर्न थालेका हुन् ।’

पोखरेलले यस्तो सीमा १ वर्षबाट बढाएर २ वा सोभन्दा बनाउनुपर्ने माग गरिन् ।

Publish on: