संयोगले बैंकको जागिर खाएका ज्ञानेन्द्र ढुंगाना देशकै ठूलो नविल बैंकको सीइओमा नियुक्त, को हुन् उनी ?

संयोगले बैंकको जागिर खाएका ज्ञानेन्द्र ढुंगाना देशकै ठूलो नविल बैंकको सीइओमा नियुक्त, को हुन् उनी ?


काठमाडौं । आगामी असार १७ गतेदेखि लागू हुनेगरी नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बैंकर ज्ञानेन्द्र ढुंगाना नियुक्ति भएका छन् । ढुंगाना केही समयअघि मात्रै नेपाल बंगलादेश (एनबी) बैंकको सीइओबाट अवकास पाएका थिए ।

नविल बैंकले एनबी बैंकलाई एक्विजिशन गरेको छ । दुबै बैंकको साधारणसभाले एक्विजिशन पारित गरिसकेको छ । ०७९ असार मसान्तभित्रै एकीकृत कारोबार हुने बताइएको छ ।

यही जेठ ७ गते सम्पन्न नविल बैंकको विशेष साधारणसभाले नै अगामी असार १७ गतेदेखि लागू हुनेगरी ढुंगानालाई ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । र, स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको छ ।

असार पहिलो सातादेखि नविल बैंकका अहिलेका सीइओ अनिल शाहको कार्यकाल सकिँदैछ । १७ गतेदेखि ढुंगानाले सीइओको कार्यभार सम्हाल्ने छन् । धेरै सूचकमा अहिले पनि पहिलो नम्बरमा रहेको नविल एनबीलाई प्राप्ति गरेपछि सबै सूचकमा पहिलो नम्बरमा पर्नेछ ।

राष्ट्र बैंकका क्याडर ढुंगाना नम्बर वान बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पाउने भाग्यमानी बनेका छन् । यसअघि उनी एनसीसी बैंकको महाप्रबन्धक र एनबी बैंकको सीइओ थिए । ती दुबै बैंक सूचक र रेपुटेसनका आधारमा निकै कमजोर मानिन्थे । अब ढुंगाना सीइओ बन्दै गरेको नविल बैंक सूचक र रेपुटेसन दुबै आधारमा नम्बर वानको बिरासत जोगाइराखेको छ ।

बैंकर्स संघको अध्यक्ष

अनिल शाह र ज्ञानेन्द्र ढुंगानाको व्यावसायिक करिअर रोचक छ । संयोग नै मान्नुपर्छ अनिल शाह पछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष बनेका ढुंगाना उनै शाहपछि नविल बैंकको सीइओ बन्दैछन् ।

अनिल शाह बैंकर्स संघको अध्यक्ष हुँदा ढुंगाना उपाध्यक्ष थिए । शाहको कार्यकाल सकिएपछि केही समय कार्यबाहक अध्यक्षको भूमिकामा पनि थिए । ढुंगाना २०७४ पुस २० गते संघको अध्यक्ष निर्वाचित भएका थिए ।

बैंकर्स संघको कार्यसमिति ससदस्य बनेको ४ वर्षपछि ढुंगाना अध्यक्ष बन्न सफल भएका थिए ।

को हुन् ढुंगाना ?

तेह्रथुम सदरमुकाम म्याङ्लुङमा जन्मिएका ढुंगाना स्थानीय सिंहबाहिनी माविबाट एसएलसी पास गरेपछि ४१ वर्षअघि उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए ।

एसएलसीमा जिल्ला फस्ट थिए उनी । तर, डिभिजन थियो सेकेन्ड । त्यसैले पुल्चोक इन्जिनियरिङ क्याम्पसले उनको आवेदन नै लिएन ।

त्यसपछि कमर्श पढ्न शंकरदेव र मिनभवनतिर हानिए । त्यहाँ पनि उनको नाम निस्किएन । र, धरान गएर कमर्श पढ्न थाले । एक प्रकारले भन्ने हो भने उनलाई काठमाडौंले पढ्न समेत पत्याएन ।

‘इन्जिनियर हुने सोच थियो, एसएलसीमा फस्ट डिभिजन नपुगेकाले साइन्स पढ्न पाइँन, अनि व्यवस्थापन पढ्नु पर्यो र, संयोगले बैंकको जागिरे हुन पुगेँ,’ ढुंगानाले सुनाए ।

यसरी बाध्यतामा कमर्श पढ्न थालेका उनी विद्यार्थीकालमै पूरै भारतको भ्रमणमा निस्किए ।

भारतको भ्रमण गर्दा चाटर्ड एकाउन्टेन्सी पढ्दा मालामाल पैसा कमाइने रहेछ भन्ने थाहा पाए । र, बिकमको रिजल्ट आएपछि सीए पढ्न भारत हानिए । त्यो बेला भारतमा सीए पढ्न जानेको लहर नै थियो ।

१५ हजारको जागिरबाट करिअर

सीएको पढाइ सकेर काठमाडौं फर्किएको केही महिनामै बैंक अफ काठमाण्डूले कर्मचारी माग्यो । ढुंगानाले पनि आवेदन दिए । परीक्षा दिए । नाम निस्कियो ।

‘संयोगले बैंकको जागिरे भएँ,’ ढुंगानाले प्रष्ट पारे । यो सन् १९९४ सालको कुरा हो ।

बैंकको जागिर राम्रै चलिरहेको थियो । सुरुवाति चरणमै मासिक १५ हजार तलब थाप्थे उनी ।

नियामक राष्ट्र बैंकमा १० वर्ष

सन् २००१ मा राष्ट्र बैंकले कर्मचारी माग्यो । गोरखापत्रमा विज्ञापन देखे उनले । र, आवेदन फारम भरे । परीक्षा दिए । पास पनि भए ।

निजी बैंकमा काम गरिरहेका ढुंगाना नियामक राष्ट्र बैंकको कर्मचारी भए । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरे । सो क्रममा विदेश गएर पढे पनि । पछि बढुवा भएर निर्देशक बनेका थिए । तर, राष्ट्र बैंकको अनुभव लिएर निजी बैंकमा जाने हो भने केही गरेर देखाउन सकिन्छ भन्ने लाग्यो । र, राष्ट्र बैंकको जागिरबाट राजिनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए ।

एनसीसी बैंकमा ६/७ महिनामात्रै काम गरे । र, एनबी बैंकमा सीइओको नियुक्ति लिए ।

‘बैंक अफ काठमाण्डूमा जागिर शुरु गर्दा न राष्ट्र बैंकमा जागिरे हुन्छु भन्ने सोचेको थिएँ, न त बैंकको सीइओ नै हुन्छु भन्ने साचेको थिएँ,’ ढुंगाना भन्छन्, ‘आज जहाँ छु, यो भनेको इमानदारीपूर्वक काम गर्दै जाँदा पाएको प्रतिफल हो ।’

तर, राष्ट्र बैंकको जागिरे भएपछि भने उनी महत्वकांक्षी भए । र, कुनैदिन राष्ट्र बैंककै गभर्नरसम्म बन्ने सपना देख्न थाले ।

‘राष्ट्र बैंकको जागिरे भएपछि बैंकिङ क्षेत्रको उच्चतम पदमा बसेर काम गर्ने महत्वकांक्षा पलाएको थियो, जुन अहिले पनि छ,’ ढुंगानाले सुनाए ।

त्यसो त डा. चिरञ्जीबी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन ।

‘समयले साथ दियो भने आगामी दिन पक्कै सफल हुन्छु,’ उनले भने ।

एनबी बैंकमा ब्यापक सुधार

ढुंगाना सीइओ भएर आएपछि एनबी बैंकमा ठूलो सुधार भएको थियो । उनी सीइओ भएर आउँदा बैंकका निष्क्रिय कर्जा १८ प्रतिशत थियो अहिले २.३० प्रतिशत छ । ब्यालेन्ससिटको साइज १३ अर्बको थियो । अहिले नन फण्डेडसहित १ खर्ब माथि छ ।

८२ अर्ब २ करोड निक्षेप र ७६ अर्ब २० करोड रुपैयाँ कर्जा पुगेको छ । र, चुक्ता पुँजी १० अर्ब ८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

उनी सीइओ भएर आउँदा १७ वटा शाखा थिए अहिले १०० वटा छन् ।

यद्यपि समकालिन बैंकहरुको तुलनामा एनबी बैंकको प्रगति भने गर्न सकेन ।

एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र एनबी बैंक एउटै साल स्थापना भएका थिए । यी दुई बैंकको तुलनामा एनबी बैंक केही कमजोर नै रह्यो ।

एनबी बैंकको सञ्चालक समितिमा लामो समय विवाद थियो, जसकारण बैंकले तुलनात्मकरुपमा उल्लेख्य प्रगति गर्न सकेन । अहिले त्यो समस्या सुल्झिसकेको छ । र, गति लिनका लागि नविल बैंकसँग प्राप्ति हुने बिजनेश डिसिजन लिएको छ ।

नविल बैंकमा एनबी बैंकलाई गाभ्नेमा ढुंगानाले धेरै ठूलो भूमिका निर्वाह गरे । बंगाली लगानीकर्तादेखि नेपाली लगानीकर्तालाई कन्भिन्स गर्ने उनै ढुंगाना हुन् ।

‘एनबी बैंक नविलमा गाभिँदा लगानीकर्ताहरु थप सुरक्षित भएका छन्,’ उनले भने, ‘यो एनबी बैंकका लगानीकर्ताको ‘राइट बिजनेश डिसिजन’ हो ।’