१४ वर्षदेखि अलपत्र बाहिरी चक्रपथका लागि २ करोडमात्रै बजेट « Eglish Khabarhub

१४ वर्षदेखि अलपत्र बाहिरी चक्रपथका लागि २ करोडमात्रै बजेट



काठमाडौं । सरकारले १४ वर्षअघिदेखि अलपत्र परेको काठमाडौं बाहिरी चक्रपथ आयोजनाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बाहिरी चक्रपथ आयोयनाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सरकारले १४ वर्षअघि नै बाहिरी चक्रपथको डिपिआर तयार गरेको थियो । तर, १४ वर्ष वितिसक्दा पनि अझै काम बढेको छैन । काठमाडौं उपत्यका प्राधिकारणअनुसार बाहिरी चक्रपथको समय बढेसँगै लागत पनि बढ्दै गएको जनाएको छ । तर, लागत उच्च बढिरहेको बेला भने बजेट निकै कम विनियोजन गरेको प्राधिकरणको भनाइ छ ।

सरकारले चक्रपथ नैकाप भन्ज्याङ, थापागाउँआसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ ।

सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचंगुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किमि सडक निर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तै, ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेँचो, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइनेछ  ।

भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाइने योजना अगाडि सारेको छ ।

Publish on: