काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दश महिना (वैशाख)सम्ममा १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११.६४ प्रतिशतले धेरै हो ।
गत आवको वैशाख महिनामा कम्पनीहरूले ९८ करोड ८९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
यस अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये एलआइसी नेपाल र गुराँस लाइफबाहेक अन्य सबै कम्पनीको व्यवसाय बढेको छ ।
गत आवको यसै अवधिको तुलनामा गुराँस लाइफ इन्स्योरेन्सका व्यवसाय १८.८९ प्रतिशत र एलआइसी नेपालको व्यवसाय ५.२८ प्रतिशतले घटेको हो ।
पूरानाभन्दा नयाँ कम्पनीको व्यवसाय वृद्धिदर धेरै
पूरना जीवन बीमा कम्पनीको तुलनामा नयाँ कम्पनीको व्यवसाय वृद्धिदर उच्च देखिएको छ ।
सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८०.३५ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ४४ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८१ करोड रूपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको थियो ।
महालक्ष्मी लाइफ, सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क उल्लेख्य बढेको समितिको तथ्यांक छ ।
गत आवको तुलनामा महालक्ष्मी लाइफको ६४.६३ प्रतिशत, सिटिजन लाइफको ४७.३१ प्रतिशत, रिलायवल नेपाल लाइफको ३४.४९ प्रतिशत, प्रभु लाइफको ३३.८१ प्रतिशत र आईएमई लाइफको २९.६७ प्रतिशतले व्यवसाय बढेको हो ।
नेपाल लाइफले २८ अर्ब ३५ करोड ८० लाख रूपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । कुल जीवन बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा २५.६९ प्रतिशत हो ।
गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले २६ अर्ब ८४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
जीवन बीमालेखको संख्या १ करोड नाघ्यो
जीवन बीमालेखको संख्या १ करोड नाघेको बीमा समितिको तथ्यांक छ । चालु आवको वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरूमा १ करोड २३ लाख ७१ हजार ६९१ बीमालेख जारी भएका छन् ।
यो गत आवको वैशाख महिनासम्मको तुलनामा ४७.३२ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरूमा ८३ लाख ९७ हजार ७५५ वटा बीमालेख जारी भएका थिए ।
जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमा, अग्रिम सावधिक जीवन बीमा, रूपान्तिरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख, वैदेशिक रोजगार म्यादी जीवन बीमालेख, आजीवन बीमालेख, एकल बीमाशुल्क जीवन बीमालेख, म्यादी जीवन बीमा र लघु जीवन बीमालेख बिक्री गर्दै आएका छन् ।
जीवन बीमा कम्पनीहरूमा २० लाख १० हजार सावधिक जीवन बीमालेख, ४ लाख ४४ हजार अग्रीम सावधिक जीवन बीमा, ५ लाख ३ हजार रूपान्तिरित सावधिक जीवन बीमा, ९ लाख २५ हजार बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख, ८ लाख ५४ हजार वैदेशिक रोजगार म्यादी जीवन बीमालेख, १ लाख ५३ हजार आजीवन बीमालेख, २० हजार एकल बीमाशुल्क जीवन बीमालेख, ४२ लाख ५४ हजार म्यादी जीवन बीमा र ३२ लाख ३ हजार लघु जीवन बीमालेख जारी भएका छन् ।
SHARE YOUR THOUGHTS