
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दा पनि भन्सार राजस्वको लक्ष्य प्रभावित भएन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेकाले भन्सार राजस्वको लक्ष्य प्रभावित नभएको हो ।
नेपाल राष्ट्र बैंकले गत पुस ५ गते र माघ २६ गते ४७ समूहका वस्तु आयातका लागि एलसी खोल्न नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरिएको थियो । आयातमा कडाइ गरिँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने आंकलन गरिँदै आएको थियो ।
तर, भन्सार विभागले जेठ महिनामा लक्ष्यको ९७.६९ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले जेठ महिनामा ४३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४२ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्म भन्सार विभागले कुल राजस्व लक्ष्यको ९६.६ प्रतिशत राजस्व संकलन गरेको छ ।
जेठ महिना सम्ममा विभागले ४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म ४ खर्ब ६ अर्ब राजस्व संकलन भएको छ । आयातमा कडाइ गर्ने नीतिपछि पनि विभागले लक्ष्यभन्दा १६ अर्ब ५० करोड रुपैयाँ कम राजस्व संकलन गरेको हो ।
नेपाल उद्योग परिसंघका अधिकारी भने पेट्रोलियम पदार्थ लगायत कयौं वस्तुको मूल्यवृद्धि भएकाले आयातमा कडाइ गरिएको असर राजस्वमा नपरेको बताउँछन् ।
‘अन्तर्राष्ट्रिय बजारमा धेरै वस्तुको मूल्य बढेको छ,’ परिसंघका एक अधिकारी भन्छन्, ‘महँगो मूल्यमा सामान आयात हुँदा सरकारको राजस्व लक्ष्यमा खासै असर नपरेको हो ।’
हुन पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा सरकारले जेठमा लक्ष्यभन्दा १४ करोड रुपैयाँ बढी पूर्वाधार कर संकलन भएको छ ।
जेठ महिनामा २ अर्ब ८ करोड रुपैयाँ पूर्वाधार कर संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ ।
SHARE YOUR THOUGHTS